पु.समाचार

यी हुन् मन्त्री जनार्दन शर्मा बनेर करोडौ कमाउने व्यक्ति !

काठमाडौं । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको थियो । प्युठानका ईश्वरीप्रसाद पोखरेलले माओवादी नेता जनार्दन शर्मासँग मिल्दोजुल्दो फोटो राखेर तत्कालिन किष्ट फाइनान्समा सोही नाममा खाता खोले ।

बैंकका उच्च पदस्थ कर्मचारीलाई फोन गरी आफु जनार्दन शर्मा भएको र फाइनान्समै खाता भएकै र एउटा कार्यक्रमका लागि १० लाख रुपैयाँ सापटी सोही खातामा राखिदिन आग्रह गरे । स्वर ठ्याक्कै नेता शर्माको जस्तो थियो, बैंक खाता उनकै नाममा थियो । केही दिनका लागि भनेर आग्रह गरेपछि बैंकले पनि १० लाख दिइदियो ।

भनेकै अवधिमा उनले उक्त रकम फिर्ता परी गरिदिए । त्यसैगरी उनले २०, ३० र ५० लाख रुपैयाँ बैंकबाट निकाले । तोकिएकै मितिमा पैसा फिर्ता गरिदिए । बैंक उनको कारोबारप्रति बिश्वस्त भयो । त्यसरी चार पटक पैसा निकाल्नुको उदेश्य नै बैंकको बिश्वास जित्नु थियो । पाँचौं पटक त्यसैगरी उनले बिना धितो १ करोड रुपैयाँ निकाले ।

त्यसपछि उनी फरार भए । बैंकले नेता शर्मालाई सम्पर्क गर्योल । तर उनले आफुलाई केही थाहा नभएको बताए । बैंकमा खाता समेत नखोलेको बताएपछि छानबिन गर्दा ठगले त्यसरी शर्माको नाममा पैसा निकालेको खुल्यो । केही महिनापछि महानगरीय अपराध महाशाखाके टोलीले उनलाई बुटवलबाट पक्राउ गर्योे ।

प्रहरीलाई पक्राउ गर्ने क्रममा प्रहरीको गाडिलाई ठक्कर दिएर भाग्न खोजेका थिए । तर सफल भएनन् । त्यस्तै नबील बैंकमा माओवादीकै नेता हिमाल शर्माको नाममा खाता खोलेर ठगी गरेका थिए । अरु केही व्यक्तिहरुलाई पनि उनले विभिन्न नेताको क्यारिकेचर गरी झुक्याएर ठगी गरेको प्रहरीले जनाएको छ ।

कतिपय पीडितलाई सिंहदरबार समेत लगेर उनले आफ्नो पहुँच देखाई ठगी गरेका थिए । कतिपयलाई इजरायलको कोटा आएको छ भनेर त केही कोरिया पठाउने भनेर ठगी गरेका हुन् । प्यूठानको तोर्वाङ घर भएका उनी एक दशक पहिलेदेखि नै ठगीका संलग्न रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध बाँके अदालतमा समेत ठगी मुद्दा चलेको छ । केही वर्ष भारतीय सेनामा समेत काम गरेका उनले भारतमै उनले राशनकार्ड बनाइसकेका थिए । शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।