खेलकुद

विश्व शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि थाइल्यान्डमा सुरु हुँदै

काठमाण्डौ । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबारदेखि थाइल्यान्डको पर्यटकीय नगरी पटायामा सुरु हुने भएको छ ।

sugthan

सो प्रतियोगितामा खेलहरु समुद्रको निकारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा हुने जनाइएको छ । पटायाको पुरानो होटलमध्येको एक एम्बासडर होटलमै खेलाडी र अफिसियललाई आयोजकले बस्ने र खाने व्यवस्था मिलाएको जनाइएको छ । सो होटलमा २ हजार कोठा क्षमता रहेको बताइएको छ ।

एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने जनाइएको छ । शारीरिक सुगठनको पुरुष ६५ केजीमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक्स १७५ सेन्टीमिटर उचाइमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्स र स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाइमा विमललाल श्रेष्ठले नेपालको चुनौती पस्कने छन् ।

पाकिस्तानमा यसै वर्ष भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिललले मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गर्नेछन् । विमलले छैटौं संस्करणको स्पोर्ट्स फिजिक्समा रजत जितेका थिए । विनोदको ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

विमल र अनिलको खेल शुक्रबारै हुनेछ । विमलले शुक्रबार स्पोर्ट्स फिजिक्स तथा अनिलले ६५ केजी र मास्टर्स दुवैमा भाग लिनेछन् । शनिबार विनोद स्पोर्ट्स फिजिक्स र विमलले फिट्नेस फिजिक्समा खेल्नेछन् ।

महिलाको एथ्लेटिक फिजिक्स १७० सेन्टीमिटर उचाईसम्म ननिता महर्जनले भाग लिने छिन् । ननिताको प्रतिस्पर्धा भने प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ ।

नेपाली शारीरिक सुगठनको इतिहासमा महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो दोश्रो पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् ।

निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

विमलसहित विश्व शारीरिक सुगठनमा तीन नेपाली खेलाडीले विभिन्न स्पर्धामा पदक जितेका छन् । दोश्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा सातौंको ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए । विश्व च्याम्पियनसिपमा नेपालले सुरुकै संस्करणदेखि नियमित रुपमा सहभागिता जनाउदै आएको छ ।

तीनदिने प्रतियोगितामा नेपालसहित ५६ राष्ट्रका खेलाडीले विभिन्न १५ स्पर्धामा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । अफ्गानिस्तान भिसाका कारण प्रतियोगितामा सहभागी हुन पाएन ।

यसैबीच, डब्लुबीपीएफको बिहीबार बसेको साधारण सभाले यसअघिका अध्यक्ष काजाकिस्तान र महासचिव सिंगापुरका डातुक पाउल छोलाई नै निरन्तरता दिदै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यस्तै साधारणसभाले विश्व च्याम्पियनसिपको नवौं संस्करण २०१७ को अक्टोबरमा मंगोलिया तथा एसिायली च्याम्पियनसिपको ५१ औं संस्करण २०१७ कै अगष्टमा दक्षिण कोरियामा गर्ने निर्णय पारित गरेको साधारणसभामा सहभागी नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जनाएका छन् ।