आर्थिक

अन्योलमा फस्यो पश्चिम सेती जलविद्युत आयोजना

काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माण २० वर्षदेखि चर्चामा छ । पाँच वर्षअघि चिनियाँ कम्पनीसँग समझदारी भए पनि आयोजना निर्माण अझै अन्योलमा छ । यो ७ सय ५० मेगावाटको आयोजना हो ।

आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी) बीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । तर, नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त लगानी सम्झौता (जेभिए) नहुँदा आयोजना निर्माण अन्योलमा परेको छ ।

यो आयोजनालाई सुदूरपश्चिमको विकासको कडीका रूपमा लिइएको छ। लगानी सम्झौता (जेभिए) कहिले हुने भन्ने अनिश्चित छ । लगानी बोर्डले जेभिएका लागि तत्काल आउन चिनियाँ कम्पनीलाई आग्रह गरिरहेको छ । तर, कम्पनीले विभिन्न कारण देखाउँदै सम्झौता गर्ने समय पछि धकेलेको छ ।

कम्पनीले १६ मंसिरभित्र उपयुक्त समयमा टोली पठाउने जानकारी गराएको थियो । फेरि आउने समय पर सारेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले जानकारी दिए । ‘चिनियाँ कम्पनीलाई जेभिएका लागि आउन आग्रह गरिरहेका छौँ, विभिन्न कारण देखाउँदै आउन नसक्ने बताइरहेको छ,’ सिइओ अधिकारीले भने, ‘आयोजनाको अध्ययन डिसेम्बरभित्र सक्ने र त्यसपछि मात्रै आउने कम्पनीले जानकारी गराएको छ ।’

कम्पनीले गत असोजमा आफ्नो समूहका सदस्य अफ्रिका गएकाले तत्काल नेपाल आउन नसक्ने तर १६ मंसिरयतै उपयुक्त समयमा छलफल गर्न आउने बोर्डलाई जानकारी गराएको थियो । बिहीबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।