पु.समाचार

योगगुरु रामदेवले नेपालमा गरिएको लगानीका बारेमा कुरा फेरे, गरे यस्तो दाबी

काठमाडौं । योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् । रामदेवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको जनाएका छन् ।

‘पतञ्जली आयुर्वेद प्रालि नेपालमा आजसम्म जे जति लगानी भएको छ, त्यो सबै डा।उपेन्द्र महतो र उहाँकी धर्मपत्नी डा। समता प्रसादबाट भएको हो । यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजना अनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै नेपाल सरकारको प्रचलित कानुनअनुसार प्रक्रिया पुर्याबएर नै गरिनेछ ।’

गत बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने रामदेवले हालसम्म डेढ सय करोड (डेढ अर्ब) लगानी गरिसकेको र भविष्यमा ५ सय करोड ९५ अर्ब० लगानी गर्ने घोषणा गरेका थिए । लगानी गरिसकेको र गर्ने भनिएको उनको भाषणको भिडियो सुरक्षित छ । लगानी नै नभएकाले अनियमित लगानी भएको भन्ने समाचार यथार्थ नभएको रामदेवद्वारा हस्ताक्षरित विज्ञप्तिमा दावी गरिएको छ ।

विज्ञप्तिमा भविष्यमा भने कम्पनीमा मेटोरिटी सेयरहोल्डिङ ९अधिक सेयर० पतञ्जली आयुर्वेद भारतको हुने उल्लेख छ । यसैगरी यो उद्योगबाट प्राप्त हुने सम्पूर्ण मुनाफा नेपालमै विभिन्न परोपकारी क्षेत्रमा अनुदान दिने निर्णय गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । यो मुनाफा वितरण नगर्ने परोपकारी संस्थाका रूपमा सञ्चालन हुने कम्पनीको प्रबन्धपत्रमा उल्लेख भएको पनि विज्ञप्तिमा दाबी छ ।

‘मैले आफ्नो सम्पूर्ण जीवन नै निरन्तर कालो धन, भष्ट्राचार र अनियमित आर्थिक व्यवहारका विरुद्धको लडाइँमा समर्पित गरेको छु । वास्तवमा हाम्रो पहिचान भन्नु नै आर्थिक पारदर्शिता हो । तसर्थ मैले नै अनियमित लगानी गर्ने वा त्यस किसिमको आर्थिक व्यवहार गर्ने कुरा सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ । मंगलबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।