राजनीति

सुनसरीमा कांग्रेसको निर्वाचन लक्षित अभियान सुरु

धरान । नेपाली कांग्रेसले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न भेला तथा कार्यक्रम गर्न थालेको छ । कांग्रेस सुनसरीले कुनै पनि बखत स्थानीय तहको निर्वाचन हुन सक्ने भन्दै मातहतका क्षेत्र, नगर, गाउँ र वडामा भेला तथा विविध कार्यक्रम गर्न परिपत्र गरे बमोजिम धरान उपमहानगरका विभिन्न वडाहरुमा भेलाको आयोजना गरिएको हो ।

निर्वाचनका लागि पार्टीका सबै तहलाई सांगठानिक र मानसिक रुपले तयारी अवस्थामा राख्नका लागि भेला तथा अनुगमनलाई तिव्रता दिइएको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । जिल्ला समितिले दुई समुह बनाई धरान उपमहानगरका सबै वडामा अनुगमन गरिरहेको उनले बताए । हालसम्म धरानका १, २, ६, ११, १२, १३, १५, १६, १७, २२ र २३ नं. वडाहरुको भेला तथा अनुगमन सम्पन्न भइसकेको उनले बताए ।

भेलामा पार्टीमा विशेष योगदान पुर्याएका अग्रज एवम् प्रजातन्त्र सेनानीहरुलाई विशेष सम्मान र कदर गरिनुका साथै अन्य पार्टी परित्याग गरी आएकाहरुलाई पार्टीमा प्रवेश समेत गर्ने गरिएको उनले बताए । तामाङका अनुसार वडा नं. २२ मा विभिन्न दल परित्याग गरी १२८ जना, वडा नं. २३ मा ३१ जना, वडा नं. १५–२१ जनाले पार्टी प्रवेश गरेको जनाइएको छ ।