पु.समाचार

सोमबार दिवंगत आफन्तहरुको नाममा शतबीज छरिदै

काठमाण्डौ । सोमबार देशभरिका हिन्दु धर्माबलम्बीहरुले दिबंगत आफन्तहरुको सम्झनामा शतबीज छर्दैछन् । वर्षभरिमा दिवंगत भएका आफन्तहरुको शिवलोकमा बास होस् भन्ने कामना गर्दै उनीहरुले सतविज छर्ने चलन छ ।

सोमबार काठमाण्डौस्थित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ । पशुपति जस्तै देशका अन्य धार्मिक मठ मन्दिरहरुमा समेत शतबीज छरेर यो पर्व मनाइँदैछ ।

यो पर्व मनाउने क्रममा श्रद्धालुहरुले बिहानै सवैभन्दा पहिले आफ्नो शरीर शुद्धि गर्ने गर्छन् र त्यसपछि धान, गहुँ, जौ, कालो तिल, मास, तोरी, लावा, पिंडालु, सखरखण्डका टुक्राहरु छर्दै धार्मिक मठ मन्दिर परिक्रममा गर्दछन् । पशुपतिमा पनि श्रद्धालुहरुले यसैगरी परिक्रमा गर्ने गर्छन् ।
सत्ययुगमा शिवले मृगको रूप धारण गरी जहाँ–जहाँ विचरण गरेका थिए त्यहाँ–त्यहाँ सतबीज छर्ने गरिन्छ। त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक–एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ ।