राजनीति

प्रधानमन्त्री दाहाल पुष्पकमल दाहाल नै हुन्, प्रचण्ड होइनन् !

सुर्यखबर सम्बाददाता–
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दहालले आफूलाई मिडियाले पुष्पकमल दहाल भनेकोमा सार्बजनिक रुपमै आपत्ति प्रकट गरेका छन् ।

नेपाली नागरिकतामा स्पष्टसँग पुष्पकमल दाहाल नाम भएतापनि प्रचण्डको नाममा स्थापित भएका उनले नेपाली मिडियाहरुले प्रचण्डको साटो पुष्पकमल दाहाल भन्ने नामलाई जबर्जस्त प्रयोग गरेको आरोप उनले लगाएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दहालले किन मीडियालाई आफ्नो नाम बिगारेको भनेर असन्तुष्टी पोखे त ?

२०५२ साल फाल्गुण मसान्तभन्दा अगाडि दाहाल भूमिगत हुनुभन्दा अघि उनको नाम पुष्पकमल दहालनै थियो । तर भूमिगत भएपछि माओवादी नेताहरुको उपनाम वा जनयुद्धको नाम परिवर्तन गर्ने शिलशिलामा उनको पनि नाम परिवर्तन भएको हो । यद्यपि, उनलाई सशस्त्र संघर्षमा होमिनु अघि विश्वासका नामले चिनिने गरिन्थ्यो । शसस्त्र संघर्ष सुरु गर्ने तयारी हुँदै गर्दा पुष्पकमल दाहालले आफ्नो नाम प्रचण्ड राखेका थिए । न्वारानको नाम छबिलाल दहाल भएपनि उनको सबै सर्टिफिकेट लगायतका नाममा पुष्पकमल दहालनै रहेको देखिन्छ ।

प्रहरीले नागरिकतामा भएको नामभन्दा अर्को नाम भनेर हिडेको कुनै सर्वसाधारण जनतालाई भेटे गलत काम गरेको भन्दै कारबाही समेत गर्ने गर्दछ, नाम उल्लेख नगर्ने शर्तमा एकजना डीएसपीले भने । वकिल सुशिल दहालका अनुसार नागरिकता बाहेकको नाम सरकारी काममा प्रयोग गर्नु गैरकानुनी काम हो ।

प्रचण्डभन्दा खुसी हुने र आफ्नो नागरिकताको नाम पुष्पकमल दहाल भन्दा बेखुसी हुने आखिर प्रधानमन्त्रीलाई के भएको हो बुझ्न सकिएन, मचाहि पुष्पकमल दहाल नै भन्छु, प्रधानमन्त्रीको असन्तुष्टिबारे प्रतिक्रिया लिँदा नयानबानेश्वर निवासी हेमराज खड्काले सुर्यखबरलाई बताए ।

अधिकारवादी तथा पत्रकार कनक दिक्षितले सार्वजनिक रुपमा समेत आफूले प्रधानमन्त्रीलाई पुष्पकमल दहालनै भन्ने बताइसकेका छन् । प्रधानमन्त्री दहालले नागरिकताको नाम परिवर्तन नगरेसम्म आखिर कानुनी रुपमा त उनी पुष्पकमल दहाल नै हुन् ।

प्रधानमन्त्री दहालले संचारमन्त्री सुरेन्द्र कार्कीसंगै पे्रस सेन्टरका प्रतिनिधिहरुसंगको भेटमा नाम बिगारेकोमा असन्तुष्टी समेत जाहेर गरेका थिए । पछिल्लो समयमा सरकारी मिडियाले समेत आफ्नो नाम बिगार्न थालेको भन्दै सञ्चारमन्त्रीलाई उनले यसबारेमा गहन अध्ययन गर्न निर्देशन समेत दिए ।