समाचार

काठमाण्डौको चक्रपथ चल्ने बसको यो हालत

काठमाडौं – सार्वजनिक यातायातको यात्रा कम्ता पीडादायी छैन् । मर्मत नगरिएका गाडीमा ठेलमठेल यात्रु राखेर खाल्डाखुल्डी सडकमा धुलो उडाउँदै गुडाउँदा थाकेका यात्रु भनेको भन्दा ढिलो मात्रै गन्तव्यमा पुग्छन् । काठमाडौंमा ओहोरदोहोर गर्ने लाखौँ यात्रुको यो कष्टकर दैनिकी बनेको छ । स्टेसनमा खचाखच यात्रु गत सोमबार घडीमा साँझको ४:३० बजेको थियो । हामी अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेनगेट अगाडिको ‘बस स्टेसन’मा उभिएका थियौँ । स्टेसनमा यात्रुको भीड थियो ।

सबै गन्तव्यमा पुग्न निकै हतारोमा देखिन्थे । बस स्टेसनमा तीनवटा बस क्युमा थिए । सबैमा यात्रुको भीड थियो । बसका सहचालक यात्रु बोलाउँदै चर्को स्वरमा कराए, ‘गौशाला‘चाबहिल, ‘गौशाला‘ चाबहिल…’ हामी चक्रपथ घुम्ने बसको प्रतीक्षामा थियौँ । करिब १५ मिनेट प्रतीक्षापछि स्टेसनमा बा।४ख १३२ नम्बरको ‘महानगर’ लेखिएको बस रोकियो । बसको अघिल्लोतर्फ ‘चक्रपथ परिक्रमा’ लेखिएको प्लेकार्ड देखियो । सोही बसबाट चक्रपथ घुम्ने मनस्थिति बन्यो । हामी बसको ढोकातर्फ बढ्यौँ ।

यात्रुले बस खचाखच थियो । सहचालकले भएभरका यात्रु बसभित्र पठाए । त्यसमा हामी पनि मिसियौँ । बसको ढोका बन्द भयो । सहचालकले ओठ दोब्य्राउँदै सुसेली बजाए । घ्याच्च‘घ्याच्च गर्दै बस अघि बढ्यो ।

बस एयरपोर्टमा रोकियो । जहाँबाट हामीले साढे तीन घन्टाअघि यात्रा थालेका थियौँ । यात्रा सक्दा शरीर थाकेको थियो । मस्तिष्क गलेको थियो । चक्रपथ मात्रै २७ किलोमिटरको छ । विनाअवरोध यात्रा गर्ने हो भने २७ किलोमिटर दूरी पार गर्न एउटा कारलाई ३० मिनेट मात्रै लाग्छ । तर, हामीले सार्वजनिक बसमा साढे तीन घन्टा लगाएर चक्रपथ परिक्रमा गर्यौँ ।

बसका सिट मात्र नभएर प्यासेज पनि यात्रुले भरिएको थियो । बसको ढोकानजिक डन्डी थियो । त्यही डन्डीको आड लिएर म उभिएको थिएँ । हुइँकिएको पाँच मिनेटपछि बसको ब्रेक घ्याच्च लाग्यो । पछाडि उभिएका यात्रु मतर्फ हुत्तिएर आइपुगे । डन्डीबाट हात फुत्कियो । म बसचालकनजिकैको सिटमा बजारिन पुगेँ । सम्हालिँदै टाउकोमाथिको डन्डी समातँे । बसभित्र खुट्टा राख्ने ठाउँ छैन । तर, सहचालकले फेरि यात्रु बोलाएर राखे । झन् उकुसमुकुस बन्यो । बस घ्वार्रघ्वार्र गर्दै अघि बढ्यो ।

मेरो ठीक पछाडि एक महिला उभिएकी थिइन् । उनको एउटा हात बसको डन्डीमा थियो, अर्को हात छातीमा टाँसिएको काखे बालकमा । बालक मस्त निद्रामा थियो । उनी कष्टसाथ डन्डीमा झुन्डिएकी थिइन् । उनको आडैमा महिला आरक्षण लेखिएको सिट थियो । सिटमा दुई युवती गफिँदै थिए । शरीरको पछ्यौरा उनले सम्हाल्न सकेकी थिइनन् । पछ्यौराले सिटमा बसेकी युवतीलाई छोयो । युवती च्याँठिइन् । काखे बच्चा च्यापेकी महिलालाई घुरिन् । तर, उनी ती महिलालाई सिट छाड्न तयार भइनन् । शनिबारको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र अमुल थापाले समाचार लेखेका छन् ।