आर्थिक

पूर्ब अध्यक्ष कुशकुमार जोसी क्रस दी बोर्डरमा

सुर्यखबर सम्बाददाता,

पोखरा । उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको उद्यमशील कार्यक्रम ‘क्रस दी बोर्डर’ को आउँदो शृंखला शनिबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहितको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।

कार्यक्रमको यो शृंखलामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए ।

२०६४ मा महासंघको अध्यक्ष भएका जोशी इलेक्ट्रिकल इन्जिनियर हुन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष जोशी हाल हिमालयन बेम्बो प्रालि, मेडिटेरियन लिंक होल्डिङ प्रालि, लिबर्टी इनर्जी हाइड्रो पावर प्रालि र इनर्जी इन्जिनियरिङ प्रालिका अध्यक्ष छन् ।

लिबर्टीले २५ मेगावाटको उपल्लो दोर्दी परियोजना र ६.५ मेगावाटको उपल्लो मैलुङ परियोजना निर्माण गरेको छ । इनर्जी इन्जिनियरिङले रसुवामा ७.४ मेगावाटको उपल्लो मैलुङ ‘ए’ चलाएको छ ।

जोशी प्रबन्ध निर्देशक रहेको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्छ । उनी नेपाल सडक सुरक्षा समाजको अध्यक्ष पनि हुन् ।

संखुवासभाको चैनपुरस्थित सरस्वती हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका जोशीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा प्रमाणपत्र तह र बेलायतको सोसाइटी अफ इन्जिनियर्सबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
पोखरामा हुने उक्त कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

‘रोलमोडल बनेका उद्यमीको सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य कार्यक्रमको मुख्य विशेषता हो,’ थापाले भने, ‘उद्यमशील बन्न इच्छुक युवालाई जमघट गराई प्रेरणा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हुनेछ ।’