समाचार

अब सतर्क रहनुहोस् है, काठमाण्डु उपत्यकामा नयाँ लुटेरा समुह सक्रिय

काठमाडौं– कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन् । पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन् ।

अचम्म उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामेरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार यता यस्तै घटना भइरहेको छ ।

महानगरीय प्रहरीले महिलाले लगाएका सिक्री र बोकेको नगद लुटपाटमा नयाँ समूह सक्रिय भएको जनाएको छ । महानगरीय प्रहरीका अनुसार शुक्रबार यता सक्रिय समूहको निसानामा बुधबारसम्म पाँच महिला परिसकेका छन् ।

प्रहरीले असार १२ मा यस्तै लुटेरा समूहलाई पक्राउ गरेपछि पाँच महिना शान्त रहेको उपत्यकामा नयाँ समूहको आतंक बढेको छ ।
महानगरीय प्रहरीका अनुसार सोमबार सिनामंगल सन्चुसेन शाहले लगाएको सिक्री लुटिएको छ ।

पीडितका अनुसार घटनामा कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्ति बाटोमा हिँडिरहेकी शाहको सिक्री लुछेर भागे । बिहीबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।