विशेष

यसरी पर्दैछ काठमाण्डौ उपत्यका संकटमा !

-समाचार विश्लेषण

काठमाण्डौ । काठमाण्डौ विश्वका ठूला शहरहरुमध्येमा एक हो । सानो राष्ट्र भएपनि काठमाण्डौ आफैमा विश्व प्रसिद्ध सहरमा गनिन्छ । विश्व सम्पदा सूचीमा जोडिएका धार्मिक, सांस्कृतिक, प्राकृतिक लगायतका सम्पतिहरुका कारण मात्र होइन, यहाँको जनजीवन र प्राचिन इतिहासका कारण पनि यो सहर प्रख्यात सहरमा गनिन्छ तर पछिल्लो समयमा भने यसको परिचय बदलिन सुरु गरेको छ । सहरको व्यवस्थापन राम्रोसँग नभएका कारण यहाँको अवस्था थप विकाराल बन्दै गएको एकातिर देखिन्छ भने अर्कोतर्फ बढ्दो जनसंख्याको चापका कारण पनि काठमाण्डौ अस्तव्यस्त देखिन्छ ।

४० औं लाख मानिसहरुको जनघनत्वलाई थेगिरहेको काठमाण्डौको सहरी व्यवस्थापन राम्रोसँग हुन नसक्दा दूषित हावापानीमार्फत मानिसहरुमा विभिन्न रोगका संक्रमणहरु समेत देखिन थालेका रिपोर्टहरु बाहिर आउन थालेका छन् ।

काठमाण्डौ, भक्तपुर र ललितपुर मिलेर बनेको काठमाण्डौको समग्र सहरी नक्सा नियाल्दा यसबेला उत्तरपश्चिम ढल्केर सहरीकरण बढ्दो रुपमा देख्न सकिन्छ । ललितपुरको दक्षिणी भाग केही खाली देख्न सकिन्छ । काठमाण्डौको बीच भागमा बाक्लो जनघनत्व देख्न सकिन्छ । जसले लाखौं जनसंख्यालाई थेगिरहेको छ । खानेपानी, ढल व्यवस्थापनका अतिरिक्त घरेलु फोहोरको समेत व्यवस्थापन नहुँदा सहरअस्तव्यस्त देख्न सकिन्छ । यसले काठमाण्डौ उपत्यकाको नकारात्मक परिचय स्थापित हुँदै गएको देखिन्छ । यद्यपि, विश्व स्वास्थ्य संगठनले जारी गरेको एसियाका प्रदूषित सहरहरुको उपल्लो कोटीमा भने काठमाण्डौ परिसकेको छैन ।

काठमाण्डौलाई भारतको राजधानी नयाँ दिल्ली र बंगलादेशको राजधानी ढाकाले प्रदूषित सहरको कोटीमा जितेका छन् । उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्धेश्यका साथ सम्बन्धित महानगरपालिका,उपमहानगरपालिका र नगारपालिकाहरुले आ–आफ्नै खालका कदमहरु त चालेका छन्, तर ती अभियानहरुले सार्थक रुप लिन सकेका छैन । विगत ३ वर्षदेखि काठमाण्डौको मुटुबाट बहने बागमती, विष्णुमति लगायतका नदीहरुको सरसफाई अभियानलाई तिब्रता दिइएको छ ।

bagmati

काठमाण्डौ महानगरपालिका, नागरिक समाज, भूपू कर्मचारी, सेना, पुलिस, स्थानीयवासी लगायतको समुहले सुरु गरेको यो कार्यक्रम आफैमा उदाहरणीय कार्यक्रम हो । यसलाई निरन्तरता दिँदै जाँदा पछिल्ला वर्ष बागमती नदी सरसफाईमा केही प्रगति भएको हो कि भन्ने संकेत देखिएको छ । मृत घोषणा गरिएको बागमतीमा लेदोरहित पानी बग्न थालेको संकेत देखिन थालेको छ । यो आफैमा सुखद कुरा हो ।
यता,बाक्लो जनघनत्वका कारण उपत्यकाको हावा निकै दुषित भएको रिपोर्टहरु बाहिर आएका छन् ।

यहाँ बहने हावा आफैमा विभिन्न किसिमका दूषित ग्याँसहरु भरिएर पिरो भएका प्रतिवेदनहरु सार्वजनिक भैरहेका छन् । जसले मानवीय जीवनमा ठूलो असर पारिदिन सक्छ । दूषित हावा र पानीका कारण शरीरका भित्री अंगहरु क्षतविक्षत पारिदिन सक्छ । क्यान्सर लगायतका घातक रोगहरुको संक्रमणबाट सहरका बालबालिकादेखि बृद्धबृद्धाहरुसम्मलाई जोगाउन कठिन पर्ने विश्व स्वास्थ्य संगठनका रिपोर्टहरुले देखाएका छन् ।

यस्तो छ विश्व स्वास्थ्य संगठनको विश्वभरको पछिल्लो रिपोर्ट
विश्व स्वास्थ्य संगठनले केही समयअघि सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वका ८० प्रतिशतभन्दा बढी सहरी बासिन्दा प्रदूषित हावामा सास फेर्न बाध्य छन् । उक्त रिपोर्टअनुसार सहरमा बस्ने त्यस्ता अधिकांश मानिसहरुमा फोक्सोको क्यान्सर देखिने सम्भावना निकै बढेको छ ।
विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदुषण मुख्य समस्याका रुपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरु देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् । यसमा काठमाण्डौ पनि पर्ने गर्छ ।

उक्त अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ । यो अनुसन्धनले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषत बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ ।

विश्वका ६७ देशका करिब ७९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो । विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको अवस्था धनी देशमा भन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ । सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हुदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरु मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरु पर्दछन् । वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि वर्षेनी कम्तीमा पनि तीस लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ ।

स्याम्पलको रुपमा सहरहरुलाई लिँदा प्राय एक करोड ४० लाख जनसङ्ख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार अहिले पनि यसरी लिइएको स्याम्पलमा दक्षिण एसियामा सबैभन्दा बढी प्रदुषित सहर भारतको नयाँ दिल्ली हो । त्यसपछिका प्रदुषित सहरमा कायरो र बङ्गलादेशको राजधानी ढाका रहेको छ । यी दुई सहरको वायु प्रदुषणको अवस्थाले पनि तोकिएको हद नाघेको पाइएको छ । प्रदूषित सहरको कोटीमा भने काठमाण्डौ पनि पर्ने गर्छ ।

मध्यमबर्गीय राष्ट्रहरुमा सवारी साधन पनि प्रदुषित मापदण्डलाई पालना नगरिएका सवारी साधन चलाउने र यसले बढी मात्रामा प्रदुषण बढाएको पाइएको छ । बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरुमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउदा त्यसले झनठूलो मात्रामा प्रदुषण बढाएको पाइएको पनि उल्लेख छ । त्यस्तै घरलाई न्यानो पार्नका लागि प्रयोग गरिने कतिपय धुवाँजन्य इन्धनले गर्दा पनि प्रदुषण बढाउने काम गरेको सो अनुसन्धानका क्रममा देखिएको पनि सो प्रतिवदेनमा उल्लेख गरिएको छ ।

काठमाण्डौले लगत्तै तयारी थाल्नुपर्छ
काठमाण्डौ उपत्यकामा सरकार, नागरिक समाज र अन्य सम्बन्धित निकायहरुले यो समस्याको समाधान गर्न तीब्र रुपमा कदमहरु चाल्नुपर्छ । जसरी बागमती सभ्यतालाई जोगाउन सबै पक्ष हातेमालो गरेर जुटेको छ, त्यसरी नै जुट्न जरुरी छ । उपत्यका लगायत बाहिरका जिल्लाहरुमा समेत यो अभियान चलाउनु आवश्यक रहेको सरोकारवालाहरुले बताउन थालेका छन् ।

काठमाण्डौ महानगरपालिकाका अहिले सुरु गरिएका अभियानहरु निष्प्रभावी रहेका छन् । ती अभियानहरु सर्वसाधारणहरुसँगको पहुचमा पु¥याउन जरुरी छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना उपत्यकामा भित्रिने वित्तिक्कै केही समस्याहरु समाधान हुन सक्छन् भन्ने अपेक्षा समेत गरिएको छ तर दृढसंकल्प विना गरिएको अभियान फेरि पनि असफल हुने खतरा हुन्छ । त्यसैले मेलम्ची खानेपानीको मात्र सपना बुनेर बस्दा उपत्यका आफैमा बिकराल बन्नसक्छ ।

मेलम्ची खानेपानीको सपना बुनेको उपत्यकाबासीले निकै लामो समय भैसक्यो । खानेपानीले एउटा समस्या समाधान हुन्छ, तर जनघनत्वको चापले बढेको समस्या भने ज्यूँकात्यूँ रहन सक्छ, यातायातका साधनहरुको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सडक निर्माण, नदी प्रदूषणको व्यवस्थापन, घरेलु फोहोर व्यवस्थापन,जनसंख्या व्यवस्थापन लगायतका सवाललाई गम्भीरतापूर्वक व्यवस्थापन गर्ने कदम अहिलेदेखिनै चालिए मात्र भोली समस्याको समाधान गर्न सकिने जानकारहरु बताउँछन् ।

प्रदूषित हावापानीको व्यवस्थापनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवाला संघ संस्थाहरुसँग समेत हातेमालो गरेर अघि बढे काठमाण्डौ फेरि स्वर्ग बन्न सक्छ, यसमा दुइमत छैन ।