पु.समाचार

दलहरुबीच एकता आवश्यक छ: गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता विभाग र नेसनल मिडिया फाउन्डेसनले आयोजना गरेको ‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले संविधान संशोधन गरी पूर्णता दिँदै कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकता हुनुपर्ने धारणा राखे ।

“संविधान संशोधन प्रक्रिया अगाडि बढेको छ, संविधानप्रति केही असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरी त्यसलाई पूर्णता दिएर कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजना रहेको छ”–निधिले भने ।

उपप्रधानमन्त्री निधिले नेपालको संविधान हरेक हिसाबले उत्कृष्ट भएको हुँदा त्यसबारे अनावश्यक टीकाटिप्पणी नगर्नसमेत सबैलाई अपिल गरे । नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्ने निधिको भनाइ थियो ।

नेकपा (एमाले)का सचिव तथा प्रसार विभाग प्रमुख योगेश भट्टराईले भारतको आन्तरिक मामिलामा नेपालले र नेपालको पनि आन्तरिक मामिलामा भारतले बोल्न नमिल्ने बताए । ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै त्यसमा खलल पुर्याउनु गरी एकले अर्काको टीकाटिप्पणी गर्न नहुने धारणा राखे ।

फाउन्डेसनका अध्यक्ष राजेन्द्र जैनले भारत र नेपालबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन दुवै देशका सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा नेपाल र भारतका पत्रकार, समाजसेवीलगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस