अन्तर्राष्ट्रिय

यस्तो रहेछ भारतमा भएको यति ठूलो रेल दुर्घटनाको भित्री कारण

एजेन्सी–भारतको उत्तरप्रदेशमा आइतबार बिहान भएको भयानक रेल दुर्घटनाको बारेमा नयाँ खुलासा भएको छ । पटना एक्सप्रेसको १४ डिब्बे उक्त रेल आइतबार बिहान ३:३० बजे एक्कासि दुर्घटना हुनुको कारण रेलको प्राविधिक गडबढीका कारण हुनसक्ने अनुमानलाई यो खुलासाले पुष्टि गर्ने आधार दिएको छ ।

सोही रेलमा केही घण्टाअघि सवार एक यात्रुले सो रेलमा देखिएको प्राविधिक गडबडीबारे खुलासा गरेका छन् । मध्यप्रदेश मन्दसुर जिल्ला घर बताउने ३५ वर्षीय प्रकाश शर्माले नवभारत टाइम्सका सम्वाददातासँगको कुराकानीमा शनिबारनै रेलमा प्राविधिक गडबडी देखिएको तर रेलका अधिकारीहरुले वास्ता नगरेको बताएका छन् ।

शर्माका अनुसार शनिबार क्युमा गुडिरहेको सो रेलमा असामान्य आवाज आइरहेको थियो । शनिबार बेलुकासम्म शर्मा सो रेलमा सवार थिए । उनका अनुसार रेलमा ठूलो ठूलो आवाज आइरहेको थियो । शर्मा लगायतका यात्रुहरुले रेल स्टाफहरुलाई यो कुरा सुनाए पनि तर स्टाफहरुले बेवास्ता गरिदिए । शनिबार यो रेल इन्दुरमा २ बजे पुगेको थियो । इन्दुर–पटना एक्सप्रेसका नामले चल्ने सो रेलका अधिकारीलाई सम्झाउन यात्रुहरुले निकै कोसिस गरेका थिए तर बेवास्ता गर्दा यति ठूलो दुर्घटना हुन पुग्यो, शर्माले भने ।

शर्मा दुर्घटना भएको १२ घण्टाअघि सोही रेलमा उत्तरप्रदेश गएका थिए । बिहान सोही रेल दुर्घटना भएको खबर सुन्दा आफु निकै दुःखी भएको उनले बताए । सो रेल दुर्घटनामा परेर एकसय जनाभन्दा बढी यात्रुहरुको मृत्यु भएको छ भने २ सय भन्दा बढी यात्रु घाइते भएका छन् ।