आर्थिक

अब कुनै युवाले विदेशिनु पर्दैन: उद्योगमन्त्री जोशी

काठमाण्डौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले राज्यको अबको प्रमुख प्राथमिकता आर्थिक सम्वृद्धि हुनुपर्ने बताएका छन् । मन्त्री जोसीले त्यसका लागि राजनीतिक दलहरु एकमत रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरुसँग बिहीबार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री जोशीले सो कुरा बताएका हुन् ।

उद्योगी व्यवसायीहरुको जायज मागलाई सम्वोधन गर्न सरकार तयार रहेको बताउँदै मन्त्री जोशीले सरकारी निकायहरुबीच देखिएको समन्वयको अभावलाई कम गरि औद्योगिक वातावरण बनाउन उद्योग मन्त्रालयले आफुलाई नेतृत्वकर्ता मन्त्रालयको रुपमा प्रस्तुत गर्न चाहेको बताए ।

उद्योग व्यवसाय क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या आगामी दिनमा नदोहोरियोस् भन्नेतर्फ मन्त्रालय सचेत रहेको बताउँदै मन्त्री जोशीले उद्योग मन्त्रालय उद्योगी व्यवसायीहरुसँग निरन्तर सम्वादमा रहने बताए ।

आगामी १०/१२ बर्ष भित्रमा कुनैपनि नेपाली युवाले रोजगारीका लागि विदेशिनुपर्ने वाध्यताको अन्त्य गर्ने हिसाबले उद्योग मन्त्रालय व्यापक रोजगारी श्रृजना गर्ने तयारीमा रहेको मन्त्री जोशीले बताए । यसका लागि आवश्यक नीतिगत सुधारसँगै प्रक्रियागत ढिलासुस्तीलाई समेत कम गर्न एकद्धार प्रणालीको विकासका लागि मन्त्रालय लागिरहेको बताउँदै उनले आगामी फागुनको तेस्रो साता वैदेशिक लगानी सम्मेलन गर्न लागिएकोे समेत जानकारी दिए ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले उद्योग मन्त्रालय नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताए । यसका लागि प्रकृयागत सुधार गरी निजी क्षेत्र मैत्री वातावरण निर्माण मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।