पु.समाचार

नेपाल एयरलाइन्सले चारवटा चिनियाँ जहाज नेपाल ल्याउँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ ।
चीनमा निर्माण भएका तीनवटा १८ सिट क्षमताका वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउनेबारे अध्ययन गर्न इन्जिनियर प्रभास कर्माचार्यको संयोजकत्वमा निगमले समिति गठन गरेको थियो ।

समितिले सञ्चालनमा रहेका जहाजको ९० प्रतिशत समस्या समाधान गरिए थप जहाज ल्याउन उपयुक्त हुने सुझाव दिएपछि निगमले तत्काल एक एमए ६० र एउटा वाई १२ जहाज ल्याउन लागेको हो । बाँकी दुईवटा वाई १२ भने तीनदेखि ६ महिनाभित्रमा ल्याइने निगम स्रोतको भनाइ छ ।

निगम स्रोतका अनुसार चार लाख डलर मूल्यको स्पेयरपार्ट चिनियाँ पक्षले काठमाडौंमै उपलब्ध गराउनेछ । एउटा वाइडबडी र दुईवटा न्यारोबडी क्षमताको एउटा ह्याङ्गर बनाउन पनि चीन सहमत छ । ह्याङ्गर बनाउन चीन आफैंले चार अर्ब रुपैयाँसम्म खर्च गर्नेछ ।
प्रशिक्षक पाइलट उपलब्ध गराउने, चिनियाँ भाषाका सबै डकुमेन्ट अंग्रेजीमा उपलब्ध गराउने, वार्षिक बिमा शुल्क घटाउने र स्पेयरपार्ट काठमाडौंमै उपलब्ध गराउने सहमति चिनियाँ पक्षसँग भएको स्रोतले बतायो ।

निगम अपरेसन विभागका अनुसार पुस १५ भित्र एउटा एमए ६० र एउटा १२ ई ल्याउने गृहकार्य भएको छ । वाई १२ ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन । चिनियाँ पक्षले प्रशिक्षक पाइलट जहाजसँगै पठाए दुईवटै जहाज एकैसाथ ल्याउने तयारीमा निगम छ ।

सियानबाट कुनमिङ हुँदै काठमाडौं ल्याइने यो जहाजको कोपाइलट नेपाली वा चिनियाँ रहने विषयमा टुंगो लागिसकेको छैन । चिनियाँ जहाज सियानबाट कुन्मिङसम्म चीनको क्याप्टेनले ल्याउने र त्यसपछि नेपाली क्याप्टेनले काठमाडौं ल्याउने टुंगो लागिसकेको छ ।

चिनियाँ जहाज वाई १२ बाट दुर्गम क्षेत्रमा उडान भर्ने योजना रहे पनि लुक्ला, जोमसोम, हुम्लासहितका गन्तव्यमा एकपटक परीक्षण उडान चिनियाँ पाइलटबाटै गरिने भएको छ । त्यसपछि उपयुक्त विमानस्थलमा उडान हुनेछ । निगमका अनुसार १८ सिट क्षमतको जहाजमा न्यूनतम १२ जना यात्रु बोक्न सक्ने विमानस्थलमा वाई १२ सञ्चालन गरिनेछ । चीन जहाजसँगै प्रशिक्षक पाइलट पठाउन सहमत भएको छ । शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।