समाचार

अब यस्तो हुनसक्छ गगन थापाको अन्तिम कदम !

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेलगत्तै सरकारको चौतर्फी आलोचना सुरु भएको छ । ब्रेस्ट क्यान्सको संकेत देखापरे लगत्तै नेतृ कोइरालाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवामार्फत सरकारसँग १ करोड रुपैयाँको माग गरेका खबरहरु बाहिर आएका थिए ।

त्यसको केही दिनपछि कोइरालाको उपचारका लागि सरकारले ५० लाख दिने निर्णय गरेको छ । सरकारको यो कदमको संसदमा समेत चौतर्फी आलोचना सुरु भएको छ । उता, कांग्रेसबाटै प्रतिनिधित्व गरेर स्वास्थ्यमन्त्री भएका गगन थापाले मन्त्रालय प्रवेश गरकै दिन भीभीआइपीहरुको उपचारका लागि सरकारले दिने रकम कटौती गर्ने घोषणा गरेका थिए ।

मन्त्री थापाले सुरु गरेको उक्त कदम जायज थियो । माथिल्लो तहका व्यक्तिहरुलाई करोडौ खर्च गर्दा राज्यकोष सकिने र जनतामाथि अन्याय हुने कुरा हुन्थ्यो । त्यसैले मन्त्री थापाले भीभीआइपीका लागि सिमित उपचार खर्च दिने घोषणा गरेका थिए । त्यसको केही महिना नबित्दै सरकारले कोइरालालाई मनग्य आर्थिक सहयोग उपलव्ध गराएको छ । यो निर्णयपछि स्वास्थ्यमन्त्री गगन थापाको समेत चर्को आलोचना सुरु भएको छ ।

सर्वसाधारणहरुले मन्त्री थापाकै मिलेमत्तोमा यो निर्णय भएको हुनसक्ने भन्दै कडा आलोचना गरिरहेका छन् । यद्यपि, तरुण दलको महाधिवेशनका क्रममा पोखरामा रहेका मन्त्री थापाले सरकारले चालेको यो कदम अस्वीकार गरेका छन् र मन्त्री थापाले यो निर्णय आफुलाई कदापि स्वीकार्य नहुने बताइरहेका छन् ।

पोखराबाटै मन्त्री थापाले आफु यो निर्णय गर्ने बेलामा सहभागी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको समेत आलोचना गरेका खबरहरु आइरहेका छन् । के स्वास्थ्यमन्त्री थापालाई थाहानै नदिई प्रचण्डले कोइरालाको लागि यो कदम चाले होलान त रु यदि कदम चालेकै हुन् भने स्वास्थ्यमन्त्री थापाको अबको कदमचाहि के होला त रु स्वास्थ्य मन्त्रालय सम्हालेलगत्तै गरेको आफ्नो घोषणाविरुद्ध सिंगो क्याबिनेटनै लागेपछि गगन थापाले के सोचिरहेका होलान् रु के मन्त्रिपरिषदका अन्य निर्णयहरु पनि यही शैलीमा हुने गर्छन् रु यदि त्यसो हो भने प्रधानमन्त्री र मन्त्रीहरुबीच तालमेल नभएको ठहर्छ । यदि यो कुरा सत्य हो भने सरकारमाथि समेत विश्वास गर्न नसकिने प्रस्ट देखिन्छ ।

गगन थापाको सम्भावित कदम
सुजाता प्रकरणकै कारण स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिइहाल्छन् जस्तो लाग्दैन, तर सिंगो सरकारले उनलाई एक बचन पनि नसोधी यो कदम चालेको हो भने मन्त्री थापाले प्रधानमन्त्री दाहालसँग ठूलै आक्रोस भने पोख्ने सम्भावना छ । अर्को कुरा आफ्नै पार्टीको शीर्ष नेतृत्वको विरुद्ध थापाले कति वकालत गर्छन् भन्ने कुराले पनि निकै ठूलो अर्थ राख्न सक्छ ।

थापाले पार्टी र सर्वसाधारणहरुको उक्साहटमा मन्त्रीबाटै राजीनामा दिन सक्ने सम्भावना पनि उत्तिक्कै बलियो छ किनभने यो निर्णयले सरकारमा बसेर लोकप्रिय र जनहितकारी काम गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि उनीमा घट्न सक्ने देखिन्छ । थापाले आफ्नो पार्टीभित्र पनि कोइरालाहरुको थिचोमिचाका विरुद्ध आवाज भने उठाउँदै आएका छन् तर अहिले भने त्यो समय होइन, जबकि नेतृ सुजातालाई सहानुभूति दिने समय पनि हो यो ।

मन्त्री थापाले स्वास्थ्य मन्त्रालय सम्हालेयता गरेका निर्णयहरु भने जायजनै थिए । उनले पार्टीगत स्वार्थबाट काम गरेको देखिदैन । त्यसैले अहिले पनि उनले इमान्दारिताका साथ बोलेका हुन् भने सुजातालाई आर्थिक सहयोग उपलब्ध गराउने सरकारको निर्णयमाथि हेरफेर गराउन सक्नुपर्छ । यो निर्णयबाट प्रधानमन्त्री दाहाललाई समेत मन्त्री थापाले अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ । दाहाल नेतृत्वको सरकारका औंलामा गन्न सकिने लोकप्रिय मन्त्रीहरुमध्ये थापा पनि एक हुन् ।

थापाले सुरु गरेका कामहरुले प्रधानमन्त्री दाहाललाई समेत जस जाने भएकोले प्रधानमन्त्रीले युवा र क्रियाशील मन्त्रीहरुलाई चलाउनु हुँदैनथ्यो । यो खालका कदमहरुले सत्ता समीकरणमा समेत असर पर्नसक्छ भन्ने कुरामा प्रधानमन्त्री दाहालले हेक्का राख्नुपथ्र्यो तर त्यसतर्फ हेक्का राखेको देखिएन । सर्वसाधारणबाट चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री दाहालले सायद, आत्माग्लानी महसुस गरिरहेका होलान । गगन थापाका प्रतिक्रिया आइरहँदा उनले कतै उताउलो काम त गरिएन भनेर सोचिरहेका होलान ।

यस्ता कदमले कांग्रेसभित्रै पनि विस्तारै वितृष्णाले जरो गाड्न सक्छ । यसले प्रचण्ड र उनको नेतृत्वको सरकारलाई समेत धक्का लाग्नसक्छ । गगन थापाले पार्टी सभापति देउवामार्फत प्रधानमन्त्रीसँग आन्तारिक सहमति गरेरै यो कदम चालिएको भन्ने कुराहरु पनि बाहिर आएको छ । यदि त्यसो हो भने मन्त्री थापालाई नैतिक संकट आउनसक्छ । उनले त्यो शैलीमा काम गरे या गरेनन् अनुमान गर्ने स्थिति अहिले छैन । यदि त्यसो गरेको हो भने थापाको ओराला दिन पनि सुरु भएको ठहर्छ ।

धनी सुजाताको मगन्ते प्रवृति
सुजाता कोइराला आफैमा आर्थिक हैसियत कमजोर भएकी कांग्रेस नेतृ होइनन् । उनको पारिवारिक पृष्ठभूमी हेर्दा पनि यो कुरा थाहा हुन्छ ।
अधिकांश नेपालीहरुलाई यो कुरा थाहा छ । तर आफुलाई क्यान्सरको संकेत देखापर्ने वित्तिक्कै किन उनले एक्कासि सरकारसँग करोडौ रुपैयाँ सहयोग मागिन् । त्यो उनको कमजोरी हो । किनभने आर्थिक हैसियत चुस्त भएकी उनले सुरु–सुरुमा आफैले उपचार गराएर नपुग पैसा सरकारसँग माग्न सक्थिन् तर उनले त्यसो गरेको देखिएन ।
यो सवालमा उनको चौतर्फी आलोचना हुनु स्वाभाविक पनि हो । त्यसैले उनको चौतर्फी आलोचना भैरहेको छ, तर कोइरालालाई क्यान्सर रोग लागेकोमा मानवीय सहानुभूति भने दिनुपर्छ । उनको स्वास्थ्यलाभको कामना गर्न भने बिर्सनु हुन्न् ।