विशेष

वीपीको कुरा नेहरुले नसुन्दा सिंगो भारत दुर्घटनामा फस्यो, यसकारण भएको थियो ‘रअ’ को निर्माण !

-रंगलाल रिमाल

काठमाण्डु, २८ कात्तिक– नेपालको राजनीतिक इतिहासमा नेपाल–भारत सम्बन्ध र नेपाल–चीन सम्बन्धका थुप्रै आयमहरु भेटिने गर्छन् । नेपाल र भारतबीच जति गाढा सम्बन्ध छ, त्यतिनै नेपाल र चीनबीच पनि पछिल्लो समय सम्बन्धका दायराहरु फराकिलो हुँदै आएको देखिन्छ, यद्यपि, यसबेला भने प्रचण्ड नेतृत्वको सरकारसँग चीनले केही शंका व्यक्ति गरिरहेको अवस्था छ, तर इतिहासमा यस्ता पनि प्रसंगहरु भेटिन्छन्, जतिबेला यी दुई शक्तिशाली छिमेकीहरुलाई मध्यस्थताको काम नेपालले पनि गर्ने हैसियत राख्थ्यो र त्यो स्थिति पैदा हुने गर्दथ्यो ।

चीन र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला भने त्यस्ता अवसरहरु आएका उदाहरणहरु प्रसस्तै पाइन्छन् । भनिन्छ, नेपाल भूगोलमा सानो मुलुक भएपनि भारत र चीनका लागि सामरिक हिसाबले निकै महत्वपूर्ण स्थानमा रहेको छ । चीनले तिब्बत मामलामा नेपाललाई जोडेर हेर्ने गरेको छ भने भारतले जब तिब्बत चीनको स्वशासित क्षेत्र भयो, त्यसबेलादेखि थप असुरक्षित महसुस गर्र्दै आइरहेको देखिन्छ । त्यसैले पनि भारतले नेपाललाई आफ्नो विशेष निगारानीमा राख्ने गरेको जानकारहरु बताउँछन् ।

विशाल छिमेकीहरुको बीचमा रहेको नेपालले भने सँधै असुरक्षित महसुस गर्नुपरेका प्रसंगहरु इतिहासदेखिनै पाइने गरेका छन् । नेपाल किन सँधै असुरक्षित भैरहनुपरेको छ त ? नेपाली नेतृत्वले यी दुई विशाल मुलुकहरुलाई विश्वासमा लिन नसकेको हो वा उनीहरुको रिमोट कन्ट्रोलमा नेपाल चलिरहेको हो ? भारत र चीनबीच भएका द्धन्द्धहरुले नेपाल लगायत दक्षिण एसियामा कस्तो प्रभाव पार्छ ? इतिहासमा चीन र भारतबीच के कारण द्धन्द्ध भए र त्यसलाई रोक्न नेपालले कस्तो भूमिका खेल्यो ? एसिया लगायत विश्वबाट भारतले आफ्नो गोप्य सुचनाहरु कसरी लिने गर्छ ? यी विषयमा नेपाली नेतृत्वले कहिल्यै गम्भीर ढंगले नसोचेको नेपाल–चीन–भारत मामलामा दख्खल राख्नेहरुको भनाई छ ।

वीपीको कुरा सुनेको भए एउटा ठूलो दुर्घटनाबाट बच्थ्यो भारत !
चीनमा सन् १९४९ मा जब नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि कम्युनिष्ट सत्ता हावी भयो । नेपालमा कांग्रेस र कम्युनिष्टहरु भर्खरै अस्तित्वमा आएका थिए । राणाशासनको अन्तसँगै एउटा खालको प्रजातान्त्रिक अभ्यास नेपालमा हुँदै थियो । त्यही बीचमा भारतमा जबाहरलाल नेहरु प्रधानमन्त्री थिए । नेहरु प्रधानमन्त्री भएकै बेला वीपी पनि नेपालको शीर्ष नेतृत्वमा रहेका थिए । ‘उनले चीनमा माओसँग पनि राम्रो सम्बन्ध स्थापित गरेका थिए किनभने राजा महेन्द्रसमेत चीनसँग मोहित भैरहेको अवस्था थियो ।

त्यो बेला चीनले भारतमाथि आक्रमण गर्दैछ भन्ने कुरा भारतभन्दा पहिले नेपाललाई थाहा थियो, त्यसपछि एउटा भेटमा वीपीले चीनले भारतमाथि आक्रमण गर्दैछ, यो नेपालका लागि पनि खतरा हो, तपाईहरु सतर्क रहनुस् भन्ने कुरा सुनाए तर नेहरुले वास्तै गरेनन्, उनले यो हुनै सक्दैन भनेर टारे’ नेपालमा जासुसीको जालो पुस्तकमा पत्रकार सरोजराज अधिकारी लेख्छन् ।

वीपीले त्यसो भनिरहँदा नेहरुले चीन आफ्नै समस्यामा फसेको बताउँदै बेवास्ता गरेका थिए । त्यसको लगत्तै सन् १९६२ मा चीनले अरुणाञ्चलको विषय देखाउँदै एक्कासि आक्रमण गर्यो । उक्त लडाईमा भारतले आत्मासमर्ण गर्नुपरेको र भारतीयहरुको आत्मविश्वास ह्वात्तै घटेको अधिकारीको पुस्तकमा उल्लेख छ ।

वीपीले त्यसबेला चीनमा कम्युनिष्टहरुले सुरु गरेको सत्ता सञ्चालनको रणनीति र छिमेकीहरुलाई हेर्ने बाह्य कुटनीतिको विषयमा समेत टिप्पणी गरेका थिए । उनले चीनमा कम्युनिष्टहरुको उदय भएको र उनीहरुको छिमेक नीति पनि आक्रमक हुने भएकोले त्यसले नेपाल र भारत दुवैलाई फाइदा नगर्ने जनाउ दिँदा नेहरुले टाउको बटारेको प्रसंग समेत भेटिन्छ । यदि त्यसबेला वीपीको कुरा गम्भीरतापूर्वक नेहरुले सुनेको भए चीन र भारतबीचको युद्ध रोकिन समेत सक्थ्यो । पुस्तकमा उल्लेख गरिएको छ ।

चीनको आक्रमणपछि भारतीय गुप्तचर संस्था ‘रअ’ जन्मियो
चीनले जब अरुणाञ्चल प्रदेशको विषयमा भारतमाथि आक्रमण गर्यो र विजयी भयो । त्यसपछि भारतीय शासकहरु निकै गम्भीर भए । पत्रकार अधिकारी आफ्नो पुस्तकमा लेख्छन्, ‘त्यसपछि भारतले गोप्य सुचनाको अभाव निकै खड्किएको महसुस गर्यो र भारतीय सरकारकै एउटा अंगको रुपमा ‘रअ’को निर्माण भयो । अरुणाञ्चलमा भीषण युद्ध भएपछि चीनले त्यहाँ काँडे तारनै लगायो । त्यसबेला भारतले आफ्नो गोप्य सुचनाको नेटवर्कलाई चुस्त पारेको थियो भने तयारी गर्न सक्थ्यो ।

raw

यति सम्मकी नेपाललाई अरुणाञ्चलमा आक्रमण हुँदैछ भन्ने कुरा ७ दिन अघिनै थाहा थियो तर भारतले बेवास्ता गर्दा उसले ठूलो क्षति बेहोर्यो । त्यसैको परिणामस्वरुप ‘रअ’ जस्तो शक्तिशाली गुप्तचर संस्था भारतले निर्माण गर्यो ।

वास्तवमा ‘रअ’ भारतीय गुप्तचर संस्था हो । नेपालमा यसका ३ हजारभन्दा बढी पूर्णकालीन र अल्पकालीन कर्मचारीहरु रहेको पत्रकार अधिकारीले नेपालमा जासुसीको जालो पुस्तकमा उल्लेख गरेका छन् । यो संस्था भारत सरकारकै माताहतमा रहेको छ । छिमेकी र अन्य विदेशी मुलुकहरुमा यो संस्थाका अधिकारीहरु कुटनीतिक आवरणमा बस्ने गर्छन् ।

काठमाण्डुस्थित भारतीय राजदूतावासमा ‘रअ’ प्रमुखका लागि छुट्टै विभागनै निर्माण गरिएको छ । त्यहाँ मिनिष्टर पदको निर्माण गरेर कुटनीति आवरणमा राजनीतिक सुचनाहरु भारत पुर्याउने काम समेत हुने गर्छ । काठमाण्डु उपत्यका र नेपालभर हज्जारौ ‘रअ’ का एजेन्टहरु रहेका छन् । अनौठो कुरा त के छ भने कतिपय ‘रअ’का स्थानीय एजेन्टहरुलाई आफु ‘रअ’को कर्मचारी हुँ भन्ने नै थाहा हुँदैन । उनीहरुबाट सुचना बाहिर गइरहेको हुन्छ तर पैसामा उनीहरुलाई आफुले रोजीरोटीको काम गरिरहेको छु भन्ने लागिरहेको हुन्छ ।

यो संस्थाका विश्वभर डेढ लाखभन्दा बढी कर्मचारी पुगिसकेको पुस्तकमा उल्लेख छ । ‘रअ’ले आफ्नै जासुसी विमानहरु समेत खरिद गरिसकेको छ । सुरुमा अढाई सय कर्मचारी राखेर सुरु गरिएको यो संस्थाले अहिले भारतीय विदेश मन्त्रालय (साउथ ब्लक) लाई समेत टक्कर दिने हैसियत निर्माण गरिसकेको छ ।

भनिन्छ, भारतीय विदेश मन्त्रालयका अधिकारी र ‘रअ’का अधिकारीबीच अहिले पनि टक्कर परिरहने गर्दछ । यसरी भारतले चीनसँगको युद्धपछि एउटा शक्तिशाली संस्था निर्माण गरेको छ । उसले चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका र युरोपलगायत पश्चिमा मुलुकहरुमा समेत यो सञ्जाल निर्माण गरेको छ, जसले आफ्नो मुलुकको बाहिरी रणनीति निर्माण गर्न सहयोग पुगोस् ।

नेपाललाई यसकारण आफ्नै गोजीमा राख्न चाहान्छ भारत !
चीनले दक्षिणतर्फ विशेष निगारानी बढाएपछि भारत जतिबेला पनि सतर्क रहन्छ । चीनमा कम्युनिष्ट पृष्ठभूमिको सत्ता भएकोले उसले फिजाएका गुप्तचर संस्था र त्यसका सञ्जालहरु बेइजिङका भित्री पर्खाल नाघेर धेरै भित्र जान सक्दैनन् ।

चीनले नेपाल लगायत वरिपरिका मुलुकहरुमा कस्तो नीति अख्तियार गर्छ र आन्तारिक कुराकानी गर्छ, त्यो आधारमा उसले आफ्नो नीति तय गर्छ । हुनत पछिल्ला वर्ष चीनमा निकै खुकुलो स्थिति निर्माण भैसकेको छ र उसलाई सजिलो पनि हुँदै गएको छ ।

india-2

इतिहासमा भएका दुर्घटनाबाट पाठ सिक्दै नेपाल, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायतका आफ्ना छिमेकीहरुसँग भारतले सम्बन्ध विस्तार गरिरहेको देखिन्छ । पाकिस्तानसँग भने चीनसँगको एलायन्सकै कारण सम्बन्धमा दरार आएको बुझिन्छ । नेपालमा भने उसले चीन हावी भएको देख्न चाहादैन किनभने तिब्बत कब्जा भएकै समयदेखि असुरक्षित महसुस गरेको भारतले नेपालमा चीन हावी हुनु बेइजिङ दिल्लीतर्फ सोझिएको अर्थमा बुझ्ने गर्छ ।

त्यतिमात्र होइन, आन्तारिक सुचनाका लागि समेत उसले नेपाललाई आफ्नै पकेटमा राख्ने गरेको देखिन्छ । सायद, वीपीका कुरा नेहरुले त्यसबेला सुनेका मात्र हुन्थे भने इतिहासकै एउटा ठूलो दुर्घटनबाट भारत जोगिने थियो र उसको स्वाभिमानमा त्यत्रो चोट लाग्दैनथ्यो । यो कुरा भारतले बुझेको छ र त, नेपालाई गुलियो खुवाएर हुन्छकि, हरियो घाँस देखाएर हुन्छ वा धम्क्याएर जस्तोसुकै तरिका अप्नाएर पनि उ आफ्नो बर्चस्वमा राख्न चाहाने एकथरी विश्लेषकहरु बताउने गर्छन् ।