पु.समाचार

लौ है अब होस पुर्याऔं, नत्र ज्यानै जान सक्छ !

काठमाडौँ । मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले भनिन्, “पहिले पहिले ५० वर्ष उमेर नाघेकाहरूमा मधुमेह देखिन्थ्यो, पछिल्लो समय ३० वर्षका युवायुवती पनि मधुमेहको सिकार बन्ने गरेका छन् ।” मधुमेह विशेषज्ञ डा। भट्टराईले नेपालमा मधुमेहका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै नियन्त्रणका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउन सुझाव दिइन् ।

विकसित देशमा देखिने मधुमेह रोग अहिले विकासोन्मुख देशमा बढ्दै गएको छ, भट्टराईले भनिन्, “विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ । ” नेपालमा करिब १० लाख मानिसमा मधुमेह रोग देखापरेको भन्दै डा। भट्टराईले मधुमेहबाट बच्न योग, सन्तुलित आहार, दैनिक एक घण्टा हिँड्नुपर्ने बताइन् ।

हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, मधुमेह भएका कुल जनसङ्ख्यामध्ये ८० प्रतिशत कम तथा मध्यम आयस्रोत भएका व्यक्तिहरू छन् । सङ्घका अनुसार विश्वमा प्रत्येक छ सेकेन्डमा एक जनाको मृत्यु मधुमेहको कारणले हुन्छ । सङ्गठनका अनुसार दक्षिण पूर्वी एसियामा मात्र ८७ लाख मानिस मधुमेहबाट पीडित छन् । सोमबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।