पु.समाचार

नेपाली सेनाले गर्यो निकै राम्रो काम

काठमाडौं । सम्भवतः संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको जोखिमयुक्त इम्जा तालको जोखिम न्यूनीकरण गर्ने कार्यमा नेपाली सेनाले सफलता हासिल गरेपछि यो ताल जोखिममुक्त भएको छ । फलस्वरूप तालमा बढी भएको पानी सहज निकास गरिएको छ ।

यो ताल फुटेमा सोलुखुम्बुदेखि १५० किलोमिटर तलसम्मका आधा दर्जन पहाड र तराईका जिल्लासम्म धनजनको क्षति पु¥याउन सक्ने अध्ययनले देखाएको थियो । समुद्र सतहदेखि पाँच हजार १० मिटरको उचाइमा सोलुखुम्बुमा रहेको हिमतालको जोखिम न्यूनीकरण गर्ने काममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि ठेकेदार कम्पनीले आँट गर्न नसकेपछि सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
इम्जा तालमा कुल सात करोड घनमिटर पानी रहेकोमा हाल ४० लाख घनमिटर पानी निकास गरिसकिएको छ । अब तालमा छ करोड ६० लाख घनमिटर पानी मात्र छ । जल तथा मौसम विज्ञान विभाग महानिर्देशक डा। ऋषिराम शर्माले भने, “तालको कमजोर र फुट्न, भत्किन सक्ने सम्भावना रहेको भूभागभन्दा तलसम्म पानीको सतह पुगिसकेको छ । इम्जाको जोखिम न्यूनीकरण गर्न सफलता मिलेको छ ।”

imja-tal

नेपाली सेनाका इन्जिनियरिङ विभागका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले भने, “नेपाली सेनालाई इम्जाको जोखिम न्यूनीकरण गर्ने काम एकदमै नयाँ र चुनौतीपूर्ण थियो । ठूलो मिहिनेत र कुशल व्यवस्थापनका कारणले इम्जामा हामी सफल भएका छौँ । छोटो समयमा सेनाले यो सफलता हासिल गरेको हो । यस अवधिसम्म काम नसकेको भए उच्च हिमाली क्षेत्रमा काम गर्न निकै कठिन हुने थियो । ”

सेनाले हिउँ पर्ने मौसम सुरु हुनुअघि नै यो काम सम्पन्न गरेको छ । इम्जाको पानी निकासका लागि सेनाले स्थायी भौतिक संरचना पानी निकास च्यानल, ताल वरिपरि पक्की संरचना समेत निर्माण गरेको छ । अब ठूलै विस्फोट वा भवितव्य भएन भने इम्जा तालको पानीले खासै असर पार्न नसक्ने अवस्था सिर्जना भएको छ । हिउँ पग्लेर पानी बढ्दै जाने भएकाले बढेको पानी निरन्तर रूपमा निकास गर्नलाई सेनाले स्थायी प्रकृतिको निकास प्रणाली विकास गरिसकेको छ ।

उपरथी खाँडका अनुसार विपत् आइसकेपछिको व्यवस्थापनमा नेपाली सेनाले यसअघि लामो अनुभव बटुले पनि विपत्अघिको जोखिम न्यूनीकरणमा खासै अनुभव थिएन । उनले भने, ‘इम्जाको सफलतापछि नेपाली सेना डिजास्टर मिटिगेसन गर्ने काममा पनि सफल भएको छ । आगामी दिनमा सेनालाई अरू स्थानमा काम गर्न सजिलो हुने भएको छ ।’ सोमबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।