राजनीति

देशभर बन्दले जनजीवन प्रभावित, दर्जनौ बन्दकर्ता गिरफ्तार

काठमाण्डौ । आइतबार विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दले मुलुकभरको जनजीवन प्रभावित पारेको छ । काठमाण्डु उपत्यका लगायत सबै जिल्लाहरुमा सार्वजानिक सवारी साधन नचल्दा सर्वसाधारणले कष्ट बेहोर्नु परेको छ ।

काठमाण्डु उपत्यकामा फाट्टफुट्ट मोटरसाइकल र नीजि सवारी साधनहरु चलेका छन् भने सार्वजिक सवारी साधनहरु प्राय ठप्पै छन् । काठमाण्डु उपत्यकाका चोक चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ भने सर्वसाधारणहरु पैदल हिडिरहेको देख्न सकिन्छ । बन्द आयोजना गर्ने माओवादीका कार्यकर्ताहरु भने सडकमा देखिएका छैनन् । यद्यपि, आइतबार बिहानै बन्द गराउँदै हिड्न दर्जनौ कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

उता, बन्द गराउने क्रममा एकाबिहानै दोलखामा २ वटा सवारी साधनमा आगजनी भएको बताइएको छ । उज्यालो हुन नपाउँदै एक निजी कार र मोटरसाइकलमा आगजनी हुँदा सवारी साधन जलेर नष्ट भएको जनाइएको छ । त्यस्तै, सिन्धुलीमा पनि सवारी साधनमा आगजनी भएको जनाइएको छ । यद्यपि, यो समाचार तयार पार्दा समेत दोलखामा आगजनीको जिम्मेवारी कसैले लिएको छैन । आगजनी बन्दकर्ताहरुले गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।