समाचार

उपत्यका लोडसेडिङ मुक्त त भयो तर शंका पनि उत्तिक्कै छ !

काठमाडौं । ‘राजधानी सहर काठमाडौंलाई लोडसेडिङमुक्त गर्न परीक्षण भइरहेको छ । यो काम चुनौतीपूर्ण छ तर व्यवस्थापन गर्न लागिएको छ,’ ऊर्जा मन्त्री जनार्धन शर्माले बिहीबार मन्त्रालयमा यसो भनिरहँदा काठमाडौं उपत्यका बिजुलीमय थियो । यो निरन्तर हुने उनले दाबी गरे ।

उनले भने, ‘लोडसेडिङ घटाउने हो तर यसमा घन्टा नतोकौ, काम गरेपछि परिणाम देखिन्छ ।’ मन्त्रीको यो भनाइले उपत्यका अँध्यारोमुक्त हुने आशा जगाउँछ तर तथ्य र वास्तविकता फरक छन्। शर्माले भाषण, योजना र तथ्यलाई तालमेल मिलाउन सके भने मात्र सर्वसाधारणले विश्वास गर्ने आधार बन्छ ।

नेपाल विद्युत प्राधिकरणले समेत काठमाडौं उपत्यकालाई यो हिउँदमा लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। तर मन्त्रालय र प्राधिकरणकै केही पदाधिकारी यो असम्भव रहेको तर्क गर्छन्। यसो त बिजुली आपूर्ति हेर्दा अघिल्लो वर्षको तुलनामा केही सहज छ यो वर्ष ।

प्राधिकरणको अनुसार गत वर्षभन्दा यो वर्ष केन्द्रीय प्रसारण लाइनमा १५० मेगावाट बिजुली थपिएको छ। मागमा खासै वृद्धि भएको छैन । यही आधारले पनि प्राधिकरणलाई अहिले माग र आपूर्तिबीच सन्तुलन मिलाउन सजिलो भएको छ । शनिबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।