पु.समाचार

राष्ट्रपति ओबामाले गरे डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत, यस्तो भयो कुराकानी

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भर्खरै निर्वाचन जितेका डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटघाट भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आएको २४ घण्टा पनि नबित्दै राष्ट्रपति ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका हुन् ।

करिब ९० मिनेट चलेको ओबामा र ट्रम्पबीचको छलफलमा अमेरिकाको घरेलु समस्या र अन्तर्राष्ट्रिय मामलामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । ओबामाले उक्त भेटवार्तालाई शानदारको संज्ञा दिएका छने ट्रम्पले राष्ट्रपति ओबामाले दिएको सम्मानका रुपमा अथ्र्याएका छन् ।

सञ्चारमाध्यामहरुका अनुसार भेटमा ट्रम्पले आफ्नो कार्यकालमा राष्ट्रपति ओबामासँग सहयोग मागेका थिए । उनले भविष्यमा ओबामा र उनको टिमसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

ह्वाइट हाउसमा सम्मान र स्वागत गरेकोमा ट्रम्पले ओबामालाई धन्यवाद समेत दिएका थिए । राष्ट्रपति ओबामाले भने उनको कार्यकालको सफलताको कामना गरेका थिए । अबका दिनमा ट्रम्पको सफलतामानै अमेरिकाको सफलता लुकेको छ, सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओबामाले भनेका थिए ।

ट्रम्प पत्नी मेलानियासँगै ह्वाइट हाउस पुगेका थिए । मेलानियाले भने अमेरिकी प्रथम महिला मिसेल ओबामासँग भेट गरेकी थिइन् ।