पु.समाचार

प्रचण्ड र देउवाले गरे गोप्य सहमति, प्रहरी संगठनभित्र ठूलै उथलपुथल हुँदै !

काठमाण्डौ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधनमार्फत पदावधी घटाएर फ्याँक्ने खेलको अन्तिम शृंखला कार्यान्वयन हुने संकेत देखिएको छ । प्रहरीको संघीय संरचना कार्यान्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो ।

दुबै दलमा हालका एआइजीहरू आफैं र आफू निकटष्थको सहयोगमा लबिङ गरिरहेका छन् । प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच सहमति जुटाउन पहल भइरहेको स्रोतले जनायो ।

गृहमन्त्री निधिका पुराना सहयोगी अर्याल भएकाले उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले बतायो । पछिल्लो समय टीकापुर घटना, एसपी तानिएको विषय र सरूवाको कारण सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको छ भन्दै शुक्रबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।