अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्पको जितले विश्वभर तरंग, नेपाललाई समेत पर्नेभो यस्तो प्रभाव !

एजेन्सी–अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचनको परिणाम आएसँगै त्यहाँ शीर्ष नेताहरुले सबैलाई एकताबद्ध हुन आव्हान गरेका छन् । राष्ट्रपति निर्वाचनमा रिपव्लिकन पार्टी तर्फका उम्मेद्धार डोनल्ड ट्रम्ट विजयी भएलगत्तै त्यहाँ विभिन्न दलका शीर्ष नेताहरुले एकताको आव्हान गरेका हुन् । अमेरिकाको ४५ औं राष्ट्रपतिमा ट्रम्प विजयी भएसँगै विश्वभर एउटा नयाँ तरंग समेत पैदा भएको छ । विश्वमा ट्रम्पको विजयीलाई अप्रत्याशित र आश्चर्यजनक विजयी यात्राको रुपमा विश्लेषण गरिदैछ ।

विशेषगरी ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टन र राष्ट्रपति बाराक ओबामाले चुनावी परिणामपछि सबैलाई एकताको आव्हान गरेका हुन् । निर्वाचनमा पराजय बेहोरेकी हिलारीले आफ्नो हार पीडादायी भएपनि उनले ट्रम्पलाई सफलताको शुभकामना दिँदै सबै अमेरिकीहरुलाई एकताबद्ध भएर लाग्न आव्हान गरेकी छन् ।

त्यस्तै, राष्ट्रपति ओवामाले ट्रम्पसँग आफ्नौ गहिरो मतभेद भएपनि रिपव्लिकन र डेमोक्रयाट २ वटै प्रशासनबीचको संक्रमणलाई सफल बनाउन सक्दो कोशिस गर्ने उनले बताएका छन् । नेताहरुका पछिल्ला आव्हानले अमेरिकी समाजलाई चुनावी माहोलपछिको स्थितिमा फर्काउन काफी मद्धत पुग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

ट्रम्पलाई कसरी हेरिरहेको छ विश्व ?
करिब २ वर्षअघिदेखिनै अमेरिकामा नयाँ राष्ट्रपतिको निर्वाचनको रन्को हुर्किन सुरु भएको हो । त्यो बेलादेखि केही दिनअघिसम्मको माहौल हेर्दा रिपव्लिकन पार्टीका उम्मेद्धार ट्रम्प र डेमोक्रयाट पार्टीका तर्फबाट उम्मेद्धारी दिएकी हिलारी क्लिन्टनबीच चर्को प्रतिस्पर्धा रहेको थियो । त्योबीचमा धेरै भविष्यवाणीहरु भए, आरोप प्रत्यारोपहरु भएका थिए ।

विश्वको जनमत अधिकाँश हिलारीको पक्षमा देखिएको थियो । किनभने ट्रम्पले अमेरिकाका अल्पसंख्यक नागरिकहरुको नारा अघि सारेका थिए भने हिलारीले बहुसंख्यकहरुको नारा अघि सारेकी थिइन् । त्यसैले पनि ट्रम्पलाई विश्वले कट्टरपन्थी नेताको रुपमा हेरिरहेको थियो र अहिले पनि त्यो क्रम जारी छ । उनले आप्रवासन नीतिमा कट्टपन्थी अवधारणा अघि सारिरहेका छन्, जसले विश्वका धेरै मुलुकहरुलाई प्रभाव पार्ने निश्चित छ । यूरोपका अधिकांश मुलुकहरुले उनको विजयलाई शंकाको दृष्टिले हेरिरहेका छन् भने चीनसँग अमेरिकाको निकै ठूलो टक्कर पर्ने निश्चित छ ।

ट्रम्पले आफ्नो निर्वाचन अभियानमै चीनप्रतिको मुद्धालाई विशेष रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । त्यतिमात्र होइन विश्वमा जल्दोबल्दो रुपमा उठिहेको जलवायू परिवर्तन लगायतका मुद्धाहरुलाई समेत उनले अनुमोदन गर्न नसकिने अभिव्यक्ति दिइरहेका छन् । अत्यन्तै कट्टरपन्थी शैलीमा प्रस्तुत भएका उनले ह्वाइट हाउस प्रवेश पछि अख्तियार गर्ने रवैयाले मात्र विश्वले उनको बाँकी समीक्षा गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले बताएका छन् ।

नसोचेको परिणाम
विश्वका अधिकांश सञ्चारमाध्याहरुले अमेरिकामा अकल्पन्नीय आँधी आएको भन्दै टिप्पणी गरिरहेका छन् । अमेरिकाबाट प्रकाशन र प्रसारण हुने केही सञ्चारमाध्यामहरुले समेत यसलाई अकल्पनीय परिणामको रुपमा विश्लेषण गरिहेको देखिएको छ । अमेरिकाकै विश्वप्रसिद्ध सञ्चारमाध्याम द न्युयोर्क टाइम्स भन्छ, ‘ट्रम्प इतिहासको सबैभन्दा कम योजना भएका राष्ट्रपति भएका छन्, संयमका हिसाबले पनि अमेरिकाजस्तो विशाल देश हाँक्न उनलाई साँच्चै गाह्रो छ । त्यसैले ट्रम्पको जितले संसारका मानिस अचम्म र हैरान भएका छन् ।’

युरोपमा समेत ट्रम्पको बारेमा त्यहाँका सञ्चारमाध्यामहरुले आश्चर्यजनक टिप्पणी गरिरहेका छन् । जर्मन डेली डाई वेल्टले टिप्पणी गर्दै भनेको छ, ‘यस्तो पनि हुनसक्छ, यो त कल्पनै गर्न नसकिने सामुद्रिक आँधी हो ।’ त्यस्तै अलजजिराले समेत त्यस्तै टिप्पणी गर्दै भनेको छ, ‘आधुनिक इतिहासमा यस्तो परिघटना हामीले देखेकै थिएनौँ ।’ त्यसैले यसबाट के पुष्टि हुन्छ भने अमेरिकी नयाँ राष्ट्रपति ट्रम्पको आगामी यात्रा निकै चूनौतीपूर्ण रहेको छ, जसको समीक्षा उनको रवैयामा भर पर्ने देखिन्छ ।

नेपाललाई पर्ने प्रभाव
अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको परिणामसँगै नेपाललाई पनि निकै ठूलो प्रभाव पर्ने देखिदैछ । नयाँ राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले आप्रवासन नीतिलाई परिवर्तन गर्ने नारा अघि सार्दै आएकोले पनि नेपालबाट अमेरिका छिरेकी अधिकांश नेपालीहरु प्रभावित हुन सक्छन् ।

विना कागजात अमेरिकामा बस्ने विश्वकै सबै नागरिकलाई फिर्ता पठाइने ट्रम्पको योजनाले धेरै नेपालीहरु प्रभावित हुन सक्छन् । त्यस्तै डिभी लोट्री परेर त्यहाँ पुगेका नेपालीहरुलाई समेत प्रभाव पर्न सक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् । अर्कोतर्फ ट्रम्पले चीनलाई हेर्ने कट्टरपन्थी दृष्टिकोणले समेत चीनको छिमेकी मुलुक नेपाललाई प्रभाव पर्न सक्छ ।