अन्तर्राष्ट्रिय

फ्रान्सले गर्यो अमेरिकी नयाँ राष्ट्रपति ट्रम्पमाथि शंका

एजेन्सी । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले ट्रम्पको अमेरिकी राष्ट्रपतिमा आश्चर्यजनक जितले अनिश्चितताको समयको उदय भएको भनी प्रतिक्रिया दिएका छन् । बुधबार फ्रान्सेली टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले यो विषयले एकीकृत युरोपको आवश्यकतालाई थप ध्यानाकर्षण गरेको बताएका छन् ।

अलान्दले एकीकृत युरुोप जसले यस क्षेत्रको विकासका लागि प्रतिपादित मूल्यमान्यता, रुची र अघि आउने चुनौतीलाई स्वतन्त्ररुपमा सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

यसैबीच ट्रम्पको विजयपछि जलवायु परिवर्तनका विषयमा मोरक्कोको माराकेसमा जम्मा भएका कूटनीतिज्ञहरुले ट्रम्पको विजयपछि पेरिसमा भएको जलवायु सम्झौताले पूर्णता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।

ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण प्रयासस्वरुप सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा भएको महत्वपूर्ण जलवायु सम्झौतालाई कार्यान्वयन हुनबाट वञ्चित गर्न नसक्ने फ्रान्सका वातावरणमन्त्री सेगोलेन रोयलले बताए ।

उनले ७० प्रतिशत ग्रीन हाउस ग्यास उत्सर्जन गर्ने १०३ राष्ट्रले सम्झौतालाई अनुमोदन गरेकाले ट्रम्पका कारण उक्त सम्झौता उल्टिन नसक्ने बताए ।

ट्रम्पले भूमण्डलीय तापमान वृद्धिलाई चीनद्वारा फैलाइएको हौवा भनी बताउनुभएको र जलवायु सम्झौता अनावश्यक रहेको जनाउँदै यसलाई रद्द गर्नुपर्ने समेत बताउनुभएको समाचार प्रकाशित भएका थिए ।