पु.समाचार

एमालेले ४ नंम्बर प्रदेशको बिषयमा यस्तो निर्णय गर्यो !

कावासोती, नवलपरासी । नेकपा (एमाले) प्रदेश नं। ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ । कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिए।
बैठकले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ नारासहित आगामी मङ्सिर १ देखि फागुन मसान्तसम्म जनपरिचालन, मतदाता शिक्षा, जनवर्गीय सङ्गठनको भेला तथा अधिवेशन गर्ने, घर फर्क तथा पार्टी प्रवेश अभियान र प्रदेश नं. ४ को समग्र विकास निर्माण र समृद्धिका लागि दीर्घकालीन गुरुयोजना तयार गर्न विज्ञको भेला मङ्सिरभित्र गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले प्रदेश कमिटीका संयोजकदेखि सदस्यहरुको कार्यविभाजनसमेत गरेको छ । यसैगरी, बैठकले पार्टी स्कुल विभागमा संयोजक किरण गुरुङ, सङ्गठन विभाग प्रमुखमा गणेश तिमिल्सेना, प्रचार विभाग प्रमुखमा जगत् विश्वकर्मा, स्थानीय विभाग प्रमुखमा मायानाथ अधिकारी र मोर्चा सङ्गठनका प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुख तथा कार्यालय सचिवमा मानबहादुर जिसीलाई तोकेको छ ।

बागलुङ जिल्लामा रहेको ३२० मेगावाटको उत्तरगङ्गा जलाशययुक्त विद्युत् आयोजना र पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न पनि बैठकले माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संयोजक किरण गुरुङले संविधानको सर्वोच्चता स्वीकार गरेर मात्र अगाडि बढ्नुपर्ने बताए।

माओवादी नेता एमालेमा प्रवेश
यसैबीच, एमाले रजहर गाउँ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा ( माओवादी क्रान्तिकारी) का राज्य समिति सदस्यसहित १५० नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा एमालेको विकल्प नभएको भन्दै आफूहरु एमाले प्रवेश गरेको क्रान्तिकारीका राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताए। रासस