पु.समाचार

नेपालको गतिविधिप्रति चीनको गम्भीर आपत्ति !

काठमाडौं । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहेरनरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ ।

केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकार र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको छ ।

‘नेपालको प्रतिवद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ’, सरकारी उच्च स्रोतले भन्यो,‘सरकार र शीर्ष दलका नेताका गतिविधिप्रती चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ ।’

स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको जनाइएको छ ।

चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनैपनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्न दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ । मंगलबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।