अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिको निर्वाचनबारे बोल्यो रुस

एजेन्सी– रसियाले अमेरिकी निर्वाचन अभियानमा आफ्नो भूमिका नरहेको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । अमेरिकी निर्वाचन ‘अमेरिकीहरुको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरु भने बाहिर आएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

उनले अमेरिकी विभिन्न समूहले रसियाको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रसिया कसैको पक्षमा नलागेको बताए ।

जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रसियाली ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा सङ्घसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी रसियालाई अमेरिकी राजनीतिक सङ्घसंस्थामाथि आक्रमण गरेको भनी रसियाको आलोचना गरेका थिए । तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गरेका थिए ।

पुटिनले मस्कोमाथि अमेरिकी निर्वाचन अभियान प्रभावित पार्ने प्रयास गरेको भनी रसियाको आलोचना गर्ने शक्तिले अमेरिकी निर्वाचनलाई वास्तविक विषयबाट ध्यान भङ्ग गर्ने प्रयास गर्न सक्ने भनी प्रतिक्रिया दिएका थिए ।