पु.समाचार

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा कब्जा !

काठमाडौं । बहिर्गमित पूर्वलडाकुहरूले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो १ बजेबाट उनीहरूले अनिश्चितकालका लागि पार्टी कार्यालय नियन्त्रणमा लिएका हुन् । राज्यले आफूहरूमाथि लगाएको ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, आफूहरूलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने र जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले पार्टी कार्यालयको मूल गेटमै ‘ताला’ लगाएर भित्र धर्ना दिएका छन् ।

कार्यालय भित्र–बाहिर गर्न सबैलाई रोक लगाइएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले जानकारी दिए । आफूहरूको माग पूरा नभएसम्म कार्यालय घेराबन्दी जारी राख्ने उनले बताए । ‘सातबुँदे माग हामीले राखेका छौँ । माग पूरा नभएसम्म घेराबन्दी छाड्दैनौँ,’ विष्टले भने । यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए ।

पार्टी कार्यालय घेराउ गर्न विष्टकै नेतृत्वमा करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा छन् । बालबच्चासहित पूर्वलडाकु राति पनि धर्नामा बसेका छन् । सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौजनालाई अयोग्य लडाकुका नाममा शिविरबाट निकालिएको थियो । उनीहरू नै अहिले आन्दोलनमा उत्रिएका हुन् ।

कार्यालयभित्रै थुनिए तीन नेता
बहिर्गमित जनमुक्ति सेनाले अप्रत्याशित रूपमा माओवादी केन्द्रको पार्टी कार्यालय घेराउ गरेका हुन् । उनीहरूले कार्यक्रमबारे कुनै जानकारी नदिएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश पोखरेलले बताए । तर, बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले सात सूत्रीय मागको जानकारी दिएर शान्तिपूर्ण घेराबन्दीमा आएको जानकारी दिए ।

उनीहरू कार्यालय घेराउ गर्न पुग्दा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितमान शाक्य, सचिवालय सदस्य श्रीराम ढकाल र प्रकाश पोखरेल कार्यालयभित्रै थिए । उनीहरू पार्टी कार्यालयमै थुनिएका छन् । पार्टी कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकी भने भित्र पस्नै पाएनन् । पार्टी कामको सिलसिलामा बाहिर रहेका उनी कार्यालय जान खोज्दा पूर्वलडाकुले प्रवेश निषेध गरेका थिए ।

प्रधानमन्त्रीसँग मात्रै वार्तामा बस्ने
बहिर्गमित पूर्वलडाकुका मागका विषयमा केन्द्रीय कार्यालयभित्रै रहेका हितमान शाक्यलगायतका नेताहरूले वार्ता गर्न खोजेका थिए । तर, पूर्वलडाकुहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग मात्र वार्तामा बस्ने बताएका थिए ।

‘हामी प्रधानमन्त्रीसँग मात्रै वार्तामा बस्छौँ,’ बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भने, ‘अन्य नेतासँग हामी छलफल गर्दैनौँ ।’ नेता शाक्यलगायतले उनीहरूका मागबारे प्रधानमन्त्री र पार्टी संगठन विभाग प्रमुख रामबहादुर थापा बादललाई जानकारी गराएका छन् । मंगलबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।