पु.समाचार

दिल्लीसँग यसरी नजिक हुँदैछन् देउवा

काठमाडौं । ‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा रहेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चार दिनयता भारतमा छन् । भारतीय जनता पार्टी निकटको इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन गोवा आएका देउवाले आफ्नो भ्रमण दिल्लीसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गरिरहेका छन् ।

फाउन्डेसनको ‘इन्डिया आइडिया’ कन्क्लेभको प्रमुख अतिथिका रूपमा देउवालाई बोलाइएको थियो, जहाँ भाजपा अध्यक्ष अमित शाहसमेत सहभागी थिए । तीन पटक प्रधानमन्त्री भइसकेका र फेरि प्रधानमन्त्रीको लाइनमा रहेका देउवासँग सम्बन्ध विस्तार गर्न भारतको सत्तारूढ दल भाजपासमेत उत्तिकै आतुर देखिन्छ ।

देउवासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले नै भाजपाले यो भ्रमण गराएको देखिन्छ । देउवा पनि भारतका नेता तथा अधिकारीहरूसँग आफ्नो पुरानो सम्बन्धलाई पुनर्ताजगी गर्न चाहन्छन् । पछिल्ला महिनामा कांग्रेस र भाजपाका नेताहरूको भेटघाट निकै झांगिएको छ ।

आइतबार देउवा जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी भए । उनलाई विश्वविद्यालयले विद्यावारिधिको मानार्थ उपाधिसमेत दियो । कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर चिन्तामणि महापात्रले देउवाको प्रशंसा गर्दै ‘म्यान अफ एक्सन नट वड्र्स’ भनेका थिए ।

देउवाको लेक्चर आफैंमा सम्मान थियो, जुन विश्वका एकदमै ख्याति कमाएका व्यक्तिहरूलाई मात्र विश्वविद्यालयले आमन्त्रण गर्ने गर्छ । देउवालाई मानार्थ विद्यावारिधि दिने विषयमा विश्वविद्यालयमा एकमत रहेको समेत जानकारी कार्यक्रममा गराइएको थियो । कार्यक्रममा देउवाले ‘डेमोक्रेसी एन्ड प्रोग्रेस इन एसियन सन्चुरी’ शीर्षकमा आफ्नो धारणा राखेका थिए । उनले केही भारतीय चासोका सम्बन्धमा पनि आफ्नो धारणा राखेका छन् ।

देउवाले भारतको सुरक्षा चासोप्रति सजग रहेको, तराई–मधेसको माग सम्बोधन गर्न संविधान संशोधनका लागि प्रतिबद्ध भएको, माओवादी द्वन्द्व अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको र त्यसमा भारतले सहयोग गरेको लगायतका धारणा व्यक्त गरेका थिए । मंगलबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।