समाचार

साढे चार वर्षपछि छोराको शव आएपछि…!

काठमाडौं । बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो । साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो । वीरबहादुर छोराको शव लिन आएका थिए ।

शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए । मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर दाहसंस्कार सम्पन्न गरेका थिए । किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्योव, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’
काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए ।

परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए । उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो ।

विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दुस्खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ । खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र ?’
कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए । छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो ।

दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो । उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो । फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो । मंगलबार को कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।