पु.समाचार

लोकमानसिँहलाई हटाउनुपर्ने प्रधानमन्त्री दाहालको धारणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गरेर हटाउनुपर्नेमा जोड दिएका छन्।

आज बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए।
‘प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ,’उनले भने।
वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ।
भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले ‘काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त बनाउने’ योजनाबारे नेपाल विद्युत् प्राधिकरणसँग खाका ल्याउन निर्देशन दिएका छन्।
बिहान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले उपत्यकालाई तत्कालै विद्युत्भार कटौती गर्ने आफ्नो सङ्कल्पअनुरूप अघि सारेको ‘काठमाडौँलाई विद्युत्भार कटौती बनाउने’ योजनामा सहयोग गर्न निर्देशन दिए।
नयाँ योजना सञ्चालनका लागि तयारी गर्न, विद्युत् चोरी, बक्र्यौता नतिर्नेजस्ता समस्या समाधान गर्न, देशलाई विद्युत्भार कटौती गर्ने कार्ययोजना तयार गर्न र ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिए।
सोही अवसरमा निर्देशक घिसिङले प्राधिकरणले उपत्यकामा लोडसेडिङ अन्त्य गर्दै देशभरि नै अन्त्य गर्ने कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिए। रासस