राजनीति

सभापति देउवा र पौडेल पक्षबीच तरुण दलमा विवाद, महाधिवेशन अन्यौलमा !

काठमाण्डौ । मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको प्रभावशाली भातृसंगठन नेपाल तरुण दलको केन्द्रीय महाधिवेशनको तयारी तीव्र भएको छ । करिब एक हप्तापछि पोखरामा आयोजना हुन लागेको महाधिवेशनको विषयलाई लिएर सो संगठनभित्र चर्को आरोप प्रत्यारोप चलिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तरुणहरुबीच महाधिवेशनको वैधानिकताको विषयलाई लिएर चर्को आरोप प्रत्यारोप चलेको हो ।
देशभर भएका संगठनका जिल्ला सम्मेलनहरुको वैधानिकता र उक्त मुद्धामाथि समेत असन्तुष्ट पक्षले चर्को विषय उठान गरिरहेका छन् । कातिक २७, २८ र २९ गते तय गरिएको महाधिवेशन यसअघि पनि थुप्रैपटक स्थगित भएको इतिहास भेटिन्छ ।

करिब १२ वर्षपछि हुन लागेको यो पटकको महाधिवेशनमा पनि असन्तुष्ट पक्षहरुले चर्को आवाज उठाइरहेका छन् । यसबेला पोखरामा तरुण दलका नेता, कार्यकर्ता र प्रतिनिधिहरु जमघट बाक्लिन लागेको छ तर काठमाण्डौमा एउटा असन्तुष्ट पक्षले पत्रकार सम्मेलननै गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न चिन्ह उठाइरहेको छ । असन्तुष्ट पक्षले आफुहरुले उठाएका कुराहरु लागू नभए समानान्तर कमिटीनै गठन गर्ने चेतावनी दिएका छन् ।

देउवा पक्ष शक्तिशाली

तरुण दलभित्र यसबेला संस्थापन पक्ष निकै शक्तिशाली देखिएको छ । पार्टी सभापति देउवाको प्रभाव र अन्य कारणले पनि उक्त समुह शक्तिशाली भएको अनुमान धेरैको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडल पक्षधर नेता कार्यकताहरु भने सो संगठनमा निकै कमजोर रहेको बताइन्छ । तरुण दलका अध्यक्ष उदयशम्शेर राणालेनै त्यसको नेतृत्व गरेको हुनाले सो समुह निकै शक्तिशाली भएको धेरैको ठम्याई छ ।

त्यसैले पनि रामचन्द्र पौडेल पक्षधरका तरुण नेता कार्यकर्ताले सो समुहले एकलौटी ढंगले अधिवेशन गर्न लागेको आरोप लगाउँदै समानान्तर कमिटी गठन गर्ने समेत चेतावनी दिएका हुन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेल पक्षका केन्द्रीय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणहरुको भावनालाई समेट्ने गरी महाधिवेशन गर्न माग गरे ।

यदि त्यसो नगरिए आफुहरुलाई मान्य नहुने समेत उनको भनाई थियो । तर देउवा पक्षका नेता–कार्यकर्ताहरुको भनाईमा पौडेल पक्षीय तरुण नेता–कायर्कताहरुको यो रवैया महाधिवेशन हुन नदिने खेल मात्र हो । देउवा पक्षले संगठनभित्र आफुहरु शक्तिशाली भएको र आफुहरुले संगठन पूरै कब्जा गर्छौ भन्ने डरले असन्तुष्ट पक्षधरहरुले यसलाई स्थगित गराउने षडयन्त्र रचेको आरोप लगाएका छन् । तर असन्तुष्ट पक्षको यो सपना विफल हुने समेत उनीहरुको भनाई छ ।

पौडेल पक्ष निकै कमजोर

नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षका रुपमा चिनिने तरुण समुह निकै कमजोर रहेको आंकलन गर्न सकिन्छ । विगतको इतिहासलाई हेर्दा ४ पटक स्थगित भैसकेको महाधिवेशन यो पटक भने जसरी पनि गर्ने तयारी भैरहेको बेला पौडेल पक्षधर नेता–कार्यकताहरुको यो आवाज संगठनलाई थप कमजोर बनाउने खेल भएको देउवा पक्षीय समुहको आरोप छ ।

medani-sitaula

पौडेल पक्षधर भनेर चिनिने समुहले ७५ वटै जिल्लाहरुको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरुले वर्तमान अध्यक्ष उदयशम्शेर राणाले पोखरामा लुकेर पत्रकार सम्मेलन गरी नयाँ मिति तोकेको आरोप समेत लगाएका छन् । संस्थापन पक्षको यो रबैया कायम रहेमा असन्तुष्ट पक्षहरुले महाधिवेशननै बहिष्कार गर्दै देशव्यापी रुपमा समानान्तर कमिटी गठन गर्ने चेतावनी समेत दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका विधान तथा प्रचार प्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशननै नचाहेको जसरी चित्रण गरेको उल्लेख गर्दै आफुहरु विधिवत महाधिवशेनको पक्षपाती रहेको र तर यहाँ वर्तमान नेतृत्वले आफुहरुलाई विरोधी जसरी चित्रण गरिरहेकोले यो प्रवृत्तिप्रति आफुहरुको घोर आपत्ति रहेको बताए ।

सिटौलाले संस्थापन पक्षले ६८ जिल्लाको अधिवेशन भएको दाबी गरेपनि अहिलेसम्म ६५ वटा जिल्लाको मात्रै अधिवेशन भएको बताए । उनले अघि भने, ‘अझैपनि १५ वटा जिल्लामा विधिवत अधिवेशन हुन सकेको छैन् ।’ उनले संस्थापन पक्षले जबरजस्ती पेलेरै महाधिवेशन गर्ने हो भने आफूहरु त्यसको विरोध गर्दै जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिए । असस्तुष्ट पक्षको यो चेतावनीलाई भने संस्थापन पक्षले कमजोर मानसिकताको उपज भएको बताउँदै आएको छ ।

पोखरामा तयारी तीव्र

राजधानीमा असन्तुष्ट पक्षले विरोधका आवाज उठाइरहेका बेला तरुण दल संस्थापन पक्षले भने पोखरामा महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ ।

करिब एक हप्तापछि सुरु हुने उक्त महधिवेशनमा भाग लिन देशभरका नेता, प्रतिनिधि र कार्यकर्ताहरु पोखरामा जम्मा हुन सुरु गरिसकेका छन् । विस्तारै पोखरामा तरुण युवाहरुको भीड बढिरहेको छ । तर महाधिवेशन हुने हो वा होइन भन्ने विषयमा भने अझै निक्र्योल भइनसकेको एकथरी नेता–कार्यकर्ताहरुको भनाई छ ।

अधिकांश तरुणहरु भने यो पटक महाधिवेशन हुनैपर्ने भन्दै तयारीमा लागेका छन् । चार पटकसम्म स्थगित भइसकेको उक्त संगठनको महाधिवेशन यो पटक पनि स्थगित भयो भने पार्टीमा समेत धक्का लाग्ने एकथरी नेता कार्यकर्ताहरुको भनाई छ ।