खेलकुद

खेलाडीहरुनै गम्भीर अपराधमा संलग्न

काठमाडौं । २०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत थियो नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष । अनि पक्राउ पर्नुको कारण थियो जाली भारतीय रुपैयाँको कारोबार ।

कुनै समय जमिम साहको सहयोगीका रूपमा स्पेसटाइम नेपालमा काम गरेका नुरु उल्लाह र पाकिस्तानी नागरिक सेख मोहम्मद १ करोड जाली भारुसहित पक्राउ परेपछि उनको नाम पोलिएको थियो । विमानस्थलमा सेखलाई लिन जाने क्रममा पक्राउ परेका नुरु उल्लाहले विशेष ब्युरोसँगको बयानमा रविराज सिंह, अनुराज प्रधान र सुनील रायमाझीको नाम लिएका थिए ।

त्यो बेला जाली भारुसम्बन्धी अनुसन्धानका पोख्त एसएसपी सुबोध घिमिरे थिए । अपराधमा जोडिइरहने रविराज २ जना थिए । तस्बिर देखाउँदा नुरु उल्लाहले पहिचान गरेका व्यक्ति यिनै रविराज थिए ।

तत्काल पुर्पक्षका लागि थुनामा पुगेका उनी २ वर्षपछि निर्दोष देखिएको भन्दै अदालतको फैसलापछि २०७२ मा कारागारमुक्त भए । कारागारबाहिर आएलगत्तै उनको अपराधको यात्रा भने रोकिएन । कात्तिक १८ मा उनै सिंह श्रीलंकन नागरिकसँग मिलेर ल्यान्डलाइनको प्रयोग गरी अवैध रूपमा कलबाइपासमा संलग्न रहेको अभियोगमा पक्राउ परी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।

सिंहबारे अनुसन्धान गरिरहेका ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार उनले परिचितको नाममा सिंगापुरमा खाता खोलेको र सो खातामा दैनिक ५ देखि ७ लाख रुपैयाँसम्म जम्मा हुने गरेको अनुसन्धानमा देखिएको छ ।
गम्भीर अपराधमा तानिने खेलकर्मीमा सिंह पहिला व्यक्ति होइनन् । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको नक्कली कार्ड र प्रमाणपत्र बनाएर मानवतस्करी गरेको अभियोगमा महासंघका उपाध्यक्ष तथा रब्बी संघका महासचिव चेतनराज गिरी पक्राउ परेका थिए । उनीमाथि ठगी अभियोग लागेपछि अहिले धरौटीमा कारागारबाहिर छन् ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन राष्ट्रिय कप्तान सागर थापालगायत ५ खेलाडी विशेष अदालत धाइरहेका छन् । नेपाल कराते महासंघका महासचिव केदारबाबु सिवाकोटी राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।

ब्युरोका प्रमुख सिलवाल खेलकुदमा निश्चित आयस्रोत नहुने तर सहजै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली व्यक्तिसँगको सम्पर्कमा पुग्ने हुँदा आर्थिक उपार्जनका लागि खेल क्षेत्रका व्यक्ति गम्भीर अपराधमा लाग्ने गरेको बताउँछन् । ‘संगठित अपराधको उद्देश्य नै आर्थिक उपार्जनका लागि हो,’ उनले भने, ‘आर्थिक स्रोत निश्चित नहुँदा उनीहरू पद र प्रभावको दुरुपयोग गर्दै अपराधमा लागेका देखिन्छन् ।’ आइतबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।