पु.समाचार

तीनगुणा मूल्य बृद्धि पछि छठ अनुयायीहरु मारमा

लहान । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ ।

यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।रासस