पु.समाचार

कांग्रेस सभापति देउवा शुक्रबार भारत जाँदै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार नयाँदिल्ली जाँदै छन् । इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उनी दिल्लीबाट शुक्रबारनै गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्ने कार्यक्रम छ । फाउन्डेसन भारतीय जनता पार्टी निकटको बुद्धिजीवीहरूको संस्था हो ।

कांग्रेस सभापति देउवाले स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित साहसँग शुक्रबार राति भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । उनले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनि शुक्रबार नै भेटघाट गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने
गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । उनी शनिबार दिल्ली फर्कनेछन् । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।

सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राजनीतिक भेटघाट सकाएर देउवा २३ कात्तिक मध्याह्न १२ बजे नेपाल फर्किनेछन् । देउवाको भ्रमण टोलीमा पत्नी आरजु पनि सहभागी हुनेछिन् । शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।