समाचार

प्रहरी चौकी कब्जा गरेर स्थानीय युवाले लुटे हतियार

काठमाण्डौ । सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ ।
घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेका हुन् ।
आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो । स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे ।
उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए । त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको थियो भन्दै बिहीबारको कान्तिपुरमा समाचार प्रकाशित गरिएको छ ।