समाचार

उपत्यकामा भूकम्पपीडित समस्यामा

काठमाडौं । डेढ वर्षअघि भूकम्पबाट घरविहीन भई घर बनाउन सरकारी अनुदान पाउने आशामा बसेका काठमाडौँ उपत्यकाका भूकम्प पीडितले रकम पाउने बेलामा अनेक थरिका समस्या झेल्नुपरेको छ ।

भूकम्प पीडितलाई अनुदान दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको कार्यविधिले कतिपय समस्यालाई सम्बोधन नगरेकाले यस्तो समस्या आएको पीडितको गुनासो छ ।

तारकेश्वर नगरपालिका वडा नं. ९ र १० मा भूकम्प पीडितसँग अनुदान सम्झौता गर्ने क्रममा भेटिएका पीडितले अनेक थरिमा समस्या देखिएको गुनासो गरेका छन् ।

उनीहरूले भूकम्प पीडितको प्रमाणपत्र पाएको तर जग्गाको लाजपूर्जा नभएको, बसोबास भएको तर आवश्यक प्रमाण नभएको, गुठीको जग्गामा घर बनाई बसोबास गरेको तर लाजपूर्जा नभएको, मोही र जग्गाधनीको दोहोरो स्वामित्व भई मोहीले घर बनाएर बसेर अस्थायी पूर्जा मात्रै पाएकोजस्ता समस्या देखिएका छन् भन्दै आइतबारको गोरखापत्रमा समाचार प्रकाशित छ ।