विशेष

राष्ट्रपतिको भ्रमणमार्फत भारतले नेपाललाई दिँदैछ यस्तो ‘नयाँ सन्देश’ !

काठमाण्डौ । केही दिनभित्रै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्दैछन् । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको यो भ्रमणलाई मुलुक र मुलुक बाहिरबाट समेत निकै चासो र महत्वका साथ हेरिएको छ । शक्तिशाली छिमेकी देशका राष्ट्र प्रमुखको भ्रमण हुनु सर्वथा खुसीको विषय नै हो तर नेपाल–भारत सम्बन्धमा केही दरार पैदा भएको बेला हुन लागेको यो भ्रमणलाई विश्वले निकै चासोका साथ हेरिरहेको छ ।

अठार वर्षअघि भारतका तत्कालीन राष्ट्रपति के आर नारायणले नेपालको भ्रमण गरेका थिए । त्यो बीचमा थुप्रै भारतीय प्रधानमन्त्री र मन्त्रीहरुले नेपालको भ्रमण गरे । तर ती सबै भ्रमण दुई देशबीचमा केही न केही आन्तारिक कुटनीतिक खट्पट् भएकै बेला भएपनि राजनीतिक र कुटनीति मुद्धाहरु अहिले जसरी सतहमा आएका थिएनन् । पछिल्ला वर्ष नेपाल–भारतबीचमा निकै तनावपूर्ण स्थिति आएको हामी सबैलाई थाहा छ ।

नेपालले जारी गरेको नयाँ संविधानमा मधेसी लगायतका मुद्धाहरुको समावेशीको नारा दिएर भारतले यो संविधानलाई अस्वीकार गरेको थियो । त्यसैको आडमा भारतले नेपालीहरुको आधारभूत आवश्यकतामाथि समेत धावा बोल्यो । नेपाल–भारत बीचका सीमा नाकाहरु बन्द गर्यो । भारतीय प्रधानमन्त्रीका विशेष दूत एस जयशंकरले नेपाली राजनीतिक नेतृत्वको निवासमै आएर धम्क्याए । तर नेपालले नयाँ संविधानको सवालमा कुनै सम्झौता गरेन्, बरु उक्त संविधान जारी भएको अहिले एक वर्ष पुगिसकेको छ ।

नेपालले नयाँ संविधान जारी गरेको एक वर्ष पुग्दा नपुग्दै उक्त संविधानको आलोचनात्मक समर्थन गर्दै भारतले आफ्ना राष्ट्र प्रमुखको नेपाल भ्रमण गर्न तयार भएको छ । यो नेपालीहरुका लागि खुसीको कुरा हो । भारतको मुख्र्याइले नेपालीहरुले एक वषमै निकै दुःख र कष्ट बेहोर्नुपरेको थियो । तर भारत यसमा झुकेको छ । यो मानेमा नेपालीहरुको शीर ठाडो भएको छ ।
भारतीय राष्ट्रपतिलाई हाँसेर स्वागत गरौं
केही समयअघि देखि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने भनेपछि सामाजिक सञ्जाल लगायतका माध्यामहरुमा निकै कडा आलोचनाहरु भैरहेका छन् । दुःख दिने भारतलाई काठमाण्डुमा स्वागत गर्नु हुन्न भन्ने पनि आवाजहरु उठिरहेका छन् तर त्यसो होइन् मुर्ख छिमेकीलाई नेपालीहरुले ठूलो इमान्दारिता प्रदर्शन गरेर सवक सिकाइदिनुपर्छ ।

bidhya

एक वर्षअघि नेपालीहरुको चुल्हो बल्न नदिने शक्ति राष्ट्रका प्रमुखलाई सकेजति सम्मान र स्वागत गरेर फर्काउनुपर्छ, यसैमा नेपालीहरुको विश्वमा आफ्नो स्वाभिमान र इमान्दारिताको प्रदर्शन भएको ठहर्छ ।

विश्वले विशेष महत्वका साथ हेरिरहेको यो भ्रमणको करिब ५० घण्टाको समय नेपालीहरुले ५ हजार वर्ष पछिसम्मका सन्ततिहरुले सम्झने योग्य बनाउनुपर्छ, जसरी भारतले करिब ६ महिना नाकाबन्दी लगाएर नेपालीहरुको सयौं पुस्तासम्मका लागि पुग्ने गरी मुख्र्याइ गरेको थियो, त्यसको विपरित हामीले उसलाई सवक सिकाइदिनुपर्छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी व्यक्तिगत रुपमा बडो इमान्दार, विद्धान र विश्वमा ख्याती कमाएका राजनीतिज्ञ हुन् । भारतले नेपाललाई हेर्ने नीति निर्माण गर्ने तहमा उनको मात्र हात रहँदैन । प्रधानमन्त्री देखि साउथ ब्लकका अन्य अधिकारीहरुको सम्म त्यसमा हात रहन्छ ।

त्यसैले उनले गर्ने काठमाण्डु भ्रमणमा उनको व्यक्तिगत छबिमाथि आँच आउन दिनु हुन्न । पछिल्ला वर्ष नेपाललाई हेर्ने भारतीय दृष्टिकोण निर्माणमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बढी दोष जान्छ । यद्यपि, भारतको परराष्ट्र नीति जहिल्यै स्थाई रहन्छ, त्यो भारत स्वतन्त्र भएदेखि यताकै नीति हो ।

जुन नीति निर्माणमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको ठूलो हात रहेको देखिन्छ । त्यसैले पनि अहिले नेपालसँग भएका सन्धि सम्झौता त्यसबेला भएका स्वार्थमा केन्द्रीत भएकोले संशोधन गर्नुपर्छ भन्ने माग उठेको हो ।
नयाँ सन्देश दिन चाहान्छ भारत
दुई वर्षअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको सन्देश दिएका थिए ।

भारतका अघिल्ला प्रधानमन्त्रीहरु भन्दा नरेन्द्र मोदी केही उद्धार हुन्कि भन्ने नेपाली नेतृत्वलाई परेको थियो । तर उनले त्यसपछि अख्तियार गरेका नेपाल सम्बन्धी नीति र व्यवहारले अविश्वास बढाइदियो । प्रधानमन्त्री केपी ओलीको पालामा भने दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुग्यो ।

त्यसलै अठार वर्षपछि अहिले भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्नुको अर्थ दुई देशबीच बिग्रेको सम्बन्धलाई सुधार गर्दै नयाँ बाटो निर्माण गर्ने तयारी पनि हो । राष्ट्रपति मुखर्जीले कात्तिक १७ गते काठमाण्डौमा ओर्लने बित्तिक्कै राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । त्यस लगत्तै उनले नेपालका प्रमुख शहरहरु जनकपुर र पोखराको भ्रमण गर्ने जनाइएको छ ।

जनकपुरमा उनलाई नागरिक अभिनन्दन समेत गरिदैछ । पोखरामा मुखर्जीले भूतपूर्व भारतीय गोर्खा सैनिकहरुको कार्यक्रमलाई सम्बोधन गर्दैछन् । त्योबीचमा उनले पशुपतिनाथको दर्शन गर्नेछन् र कात्तिक १९ गते दिल्ली फर्कर्नेछन् । यी ३ दिनमा राष्ट्रपति मुखर्जीले नेपालीहरुलाई राम्रो सन्देश दिने प्रयत्न गर्नेछन्, जसले पछिल्लो समयमा नेपालीहरुभित्र लागेको चोटमा मल्हम लागोस् र नेपाल भ्रमण सार्थक होस् ।

नेपालसँग असल छिमेकी भएर प्रस्तुत हुने भारतको भित्री चाहाना हो भने नेपालले यो अभियानमा साथ दिनैपर्छ । यदि यो खालका व्यवहारहरु रणनीति मात्र हुन् भन्ने सानो संकेत मात्र मिल्यो भने पनि विशेष सतर्कता अप्नाउनैपर्छ ।