आर्थिक

एनसेलले पायो फोरजीको अनुमति, प्राधिकरणद्वारा विस्तृत कार्ययोजना माग

काठमाडौं । अब निजी क्षेत्रको पहिलो मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले पनि चाँडै नै फोरजी सेवा संचालन गर्न सक्नेछ । नेपाल दुरसंचार प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई यो सेवाको अनुमति दिएको केही हप्ता पश्चात एनसेललाई पनि टेक्नोलोजी न्यूट्रालिटी अन्तर्गत फोरजीको अनुमति प्रदान गरेको छ ।

अनुमति दिएसँगै प्राधिकरणले शुक्रबार एनसेललाई सेवा संचालन तथा विस्तारको विस्तृत कार्य योजना माग गरेको छ । “प्राधिकरणले प्रविधि तटस्थता अपनाउने गरी सरकारले केही महिना अधि संसोधित फिक्वेन्सी नीति बमोजिम एनसेललाई फोरजीको लागि अनुमति दिएको छ,” प्राधिकरण स्रोतले बताए । उनका अनुसार, प्रविधि तटस्थता अन्तर्गत कुन कुन प्रविधिमा आधारित के कस्तो सेवा ग्राहकलाई प्रदान गर्ने हो, ती सेवाहरु के कसरी संचालन तथा देशभर विस्तार गर्ने हो र यसका लागि निम्नतम कति फिक्वेन्सी आवश्यक पर्ने हो लगायतका जानकारी समावेश गरी विस्तृत कार्य योजना मागेको छ ।

एनसेलले नयाँ प्रविधि भित्राउन फोरजी फिक्वेन्सी मागेको ६ वर्ष पछि सरकारले फिक्वेन्सी दिने निर्णय गरेको हो । पहिलो पटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरण समक्ष फिक्वेन्सी माग गरेको थियो । एनसेलका कर्पोरेट कम्युनिकेशन विज्ञ मिलन शर्माले प्रविधि तटस्थता अन्तर्गत सेवा संचालनको पत्र प्राप्त गरेको स्विकार्दै प्राधिकरणले कार्य योजना मागेको बताए ।

“हाल तिहारको बिदाको समय परेकोले पत्रको सम्बन्धमा तिहार पछि विस्तृतमा थाहा हुन्छ,” उनले भने । एनसेलले सरकारले अनुमति दिएको दुई महिना भित्रमा सेवा संचालन गर्न सकिने बताउदै आएको जानकारी उनले दिए ।

सरकारले गरेको नीतिको परिमार्जन अनुरुप फोरजी सेवाका लागि एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा थप फिक्वेन्सी र आवश्यक अनुमतिका लागि प्राधिकरण समक्ष निवेदन दिएको थियो । नीतिले १८०० मेगाहर्ज व्याण्डमा प्रविधि तटस्थता अबलम्बन गरेको छ र एउटा सेवा प्रदायक कम्पनीलाई २० मेगाहर्ज सम्म फिक्वेन्सी दिन सकिने व्यवस्था गरेको छ । अहिले यो ब्याण्डमा एनसेलले ११ मेगाहर्ज र नेपाल टेलिकमले १५ मेगाहर्ज पाएको छ र यी फिक्वेन्सीहरु टुजी प्रविधिमा आधारित मोबाईल सेवा संचालनमा प्रयोग भईरहेको छन् । प्रविधि तटस्थता अन्र्तगत सेवा प्रदायकले प्राधिकरणको अनुमतिमा सोही व्याण्डमा तोकिएको फिक्वेन्सी प्रयोग गरी फोरजी सेवा दिन सक्छन् ।

केही हप्ता अघि अनुमति पाएको नेपाल टेलिकमले पुस १ गतेबाट सेवा संचालनमा ल्याउने बताएको छ । उसले काठमाण्डौं र पोखरामा पहिला सेवा सुरु गरिने र तत्काल ३ लाख लाईन फोरजी बाँडिने बताउदै आएको छ । नेपाल टेलिकमको फोरजीको गति ३२ं.४ एमबि प्रति सेकेन्डको हुनेछ । थ्रिजीको विकसित रुप मानिएको फोरजीमा मोबाईल ईन्टरनेटको गतिमा सुधार हुनेछ र ग्राहकले सजिलैसँग अनलाईन भिडियो हेर्न, भिडियो कम्फ्रेन्सिङ्, गेम खेल्न, ठूला फाईलहरु सजिलै डाउनलोड सक्नेछन् । भारतमा हाल ४० एमबि प्रति सेकेन्ड सम्मको गतिमा यो सेवा त्यहाँका कम्पनीहरुले उपलब्ध गराउदै आएका छन् ।

एनसेलले अहिले काठमाण्डौंमा आफ्नो थ्रिजी प्रविधिमा आधारित नेटवर्कमा आधुनिकिकरण गरेर २१ एबि प्रति सेकेन्ड गति सम्मको ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ र मोबाईल सेवा ७५ जिल्लामा पुर्याई सकेको छ । केही महिना अगाडी कम्पनीले ईन्टरनेट सेवाको माग र बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै डाटा सेवाको विस्तारलाई प्राथमिकता दिने बताएको थियो । फोरजी संचालन, थ्रिजी विस्तार र डाटा सेवा सुधारलाई विषेश प्राथमिकतामा राखेको बताएको थियो ।

प्राधिकरणको पछिल्लो तथ्याङ् अनुसार, गत आर्थिक वर्षको अन्त्य सम्ममा एनसेलको डाटा सेवा ५८ लाख ५५ हजार ४६४ ग्राहकले लिएका छन् भने १ करोड ४१ लाख ४५ हजार ७५८ ग्राहकले यस कम्पनीको मोबाईल सेवा लिएका छन् ।