विचार/ब्लग

सरकारले धुर्मुस र सुन्तलीबाट पाठ सिक्ने कि !

काठमाण्डौ । नेपालका चर्चित हाँस्य कलाकारहरुको जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे सुन्तली यसबेला सबैको ओठमा झुण्डिएको नाम हो ।

सबै नेपालीहरुको ओठमा हाँसो ल्याउन उद्धत सो जोडी यसबेला भूकम्पपीडितहरुको ओठमा हाँसो ल्याउन उद्धत देखिन्छ ।

केही समयअघि काभ्रेमा नमुना बस्ती निर्माण गरेको सो जोडीले भर्खरै सिन्धुपाल्चोकको गिरानचौरमा एउटा सुन्दर बस्ती निर्माण गर्न सफल भएको छ ।

giran-2

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा पाँच करोड १४ लाखको लागतमा बनेको सो बस्ती उनीहरुले शुक्रबार राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा स्थानीय जनतालाई हस्तान्तरण गरे ।

६५ वटा भवन रहेको सो बस्ती निकै सुन्दर देखिन्छ । उनीहरुले सकेसम्म सो बस्तीभित्र धेरै सुविधाहरु निर्माण गर्ने प्रयास गरेका छन् ।

शुक्रबार राष्ट्रपति भण्डारी लगायत राजनीतिक दलका नेताहरु, स्थापित कलाकारहरु, समाजसेवी बुद्धिजिवी र स्थानीय जनताको उल्लेख्य सहभागीतमा उक्त बस्ती हस्तान्तरण गरिरहँदा सबै दंग र गम्भीर देखिन्थे । एउटा कलाकारको जोडीले त्यति राम्रो काम गर्न सक्दा सबै नेपालीहरु मिलेर एउटा सिंगो देश बनाउन केहीबेर नलाग्ने संकेत थियो त्यो । त्यसैले राष्ट्रपति भण्डारीले त्यसको खुलेरै प्रशंसा गरिन् ।

सरकारलाई झापड
भूकम्प गएको करिब २ वर्ष बितिसक्दा समेत सरकारले सुरु गरेको पुननिर्माण अभियानले सार्थकता पाउन सकेको छैन । सोही समयमा एउटा कलाकारको जोडीले २ जिल्लामा २ वटा नमुना बस्ती निर्माण गरिसकेको छ ।

नीजि क्षेत्रको सहयोग र व्यक्तिगत आकांक्षाले कलाकारद्धय धुर्मुस र सुन्तलीले सो काम विशुद्ध समाजसेवाको भावनाले गरेको जनाएका छन् । पहिलो बस्ती निर्माण गर्दा डेढ वर्षकी नाबालक छोरीलाई घरमै छाडेर खटेको त्यो जोडीको संघर्षको कथा भने निकै पेचिलो थियो । तर उनीहरुले आँट गरे, सहयोग जुट्यो अहिले केही जनताले भने राम्रो राहत पाएझै महसुस गरेका छन् ।

उनीहरुको यो कदमले सरकारलाई गतिलो झापड हानेको छ । यसबाट सरकार र नीजि क्षेत्रले समेत पाठ सिक्नुपर्ने धरैको भनाई छ ।