पु.समाचार

राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणबारे भारतले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ ।

मुखर्जीको भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले भ्रमणले दुईपक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउने बताए ।

मुखर्जीको नेपाल भ्रमणमा हुने सम्भावित सम्झौताबारे सोधिएको जिज्ञासामा दलेलाले भारतको प्राथमिकता नयाँ सम्झौता गर्नेभन्दा पनि पुरानाको कार्यान्वयन रहेको बताए ।

‘दुई वर्षमा नेपाल र भारतबीच व्यापार, पारवहन, विकास परियोजनालगायत थुप्रै क्षेत्रमा सम्झौता भएका छन्, हाम्रो जोड ती परियोजनाको कार्यान्वयनमा रहनेछ,’ उनले भने ।

बिहीबार भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतको संयुक्त कमिसनको बैठकमा पनि रोकिएका परियोजनाहरूलाई अगाडि बढाउने सहमति भएको थियो ।

त्यसैका लागि केही समय अगाडि दुवै देशका प्रतिनिधि संलग्न अनुगमन संयन्त्र बनाउने सहमति भइसकेको छ, जसको बैठक एक महिनाभित्र हुनेछ । दलेलाले आफूहरूले परियोजनाको सम्बन्धमा स्थानीय स्तरमा नै केही उपलब्धि हेर्न चाहेको समेत बताए ।

मुखर्जीले नेपाल भ्रमणको समयमा संविधान संशोधन र मधेसवादी दलहरूको मागका सम्बन्धमा नेपाली नेताहरूसँग छलफल गर्छन् कि गर्दैनन् भनी सोधिएको प्रश्नमा उनले घुमाउरो पारामा सबै विषयमा कुराकानी हुने बताए ।

‘विगतमा दुई देशबीच उच्च तहमा भएको भेटघाटको समयमा नेपाल सरकारले आफ्नो प्राथमिकता र पहल समाजका सबै क्षेत्रलाई समेटेर सबै संवैधानिक विषयहरू हल गर्ने रहेको बताएको छ । भारतले यो प्राथमिकता र पहलको स्वागत गरेको छ र यसले नै नेपाललाई शान्ति र समृद्धिको बाटोमा लैजाने विश्वास हाम्रो छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा मुखर्जीले राष्ट्रपति र प्रधानमन्त्रीका अलावा मुख्य राजनीतिक दल तथा मधेसवादी दलका नेताहरूलाई समेत भेटघाट गर्ने जानकारी दिइएको छ । भारतले मधेसवादी दलहरूको माग सम्बोधनका लागि भएको ढिलाइप्रति यस अगाडि नै राजनीतिक नेतृत्वमार्फत असन्तुष्टि व्यक्त गरिसकेको छ । शनिबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।