पु.समाचार

यी हुन् कांग्रेसभित्र महाअभियोगको पक्षमा बोल्ने नेताहरु

काठमाडौं । अख्तियारमा बसेर ‘समानान्तर सत्ता’ चलाइरहेका लोकमानविरुद्ध कांग्रेसभित्र मत जुटाउन गगनलाई फलामको चिउरा चपाएसरह भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा गगनसहित सातजना मात्रै लोकमानमाथिको महाभियोगको पक्षमा उभिए । अहिलेको अवस्थामा गगनले नै नेतृत्व गरिरहेको यो समूहमा ‘पब्लिक स्टन्ट’ गर्न मन पराउने नेताहरु पनि छन् ।

सिटौलानिकट अर्का नेता प्रदीप पौडेल पनि गगनसँगै लोकमानलाई महाभियोग लगाउने पक्षमा छन् । त्यसैगरी बद्री पाण्डे, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र सुरेन्द्र पाण्डे महाभियोगको पक्षमा उभिएका केन्द्रीय सदस्य हुन् ।

लोकमानबारे अनिर्णित बनेको केन्द्रीय समितिमा बैठकमा बोल्ने ६० जना केन्द्रीय सदस्यमध्ये यी सातजन मात्रै महाभियोगको पक्षमा उभिएका थिए ।

अन्य ५३ जना नेताहरुले लोकमानलाई महाभियोग लगाउन नहुने तर उनलाई उचित विकल्प दिएर विदा गर्नुपर्ने धारणा राखेका थिए ।

लोकमानलाई महाभियोग लगाउन नहुने धारणा दोस्रो जनआन्दोनलका बेला गगन भन्दा पहिले गणतन्त्रको नारा लगाउने केन्द्रीय सदस्य गुरु घिमिरे पनि थिए । कांग्रेसका अन्य वरिष्ठ नेताहरु पनि लोकमानविरुद्ध बोल्ने पक्षमा छैनन् ।

सभापति शेरबहादुर देउवाले लोकमानको विरोध गरेपनि उनी कात्तिक १९ देखि हुने भारत भ्रमणअघि कुनै निर्णय गर्ने पक्षमा छैनन् । देउवाको मुड भारतबाट फर्केपछि लोकमानबारे निर्णय लिने छ ।

अर्कातिर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लोकमानबारे हतारमा निर्णय लिनु गल्ती हुने बताइसकेका छन् । शेखर कोइराला, खुमबहादुर खड्का र अन्य वरिष्ठ नेताहरुको धारणा पनि पौडेलसँग मिल्दोजुल्दो छ भन्दै शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।