पु.समाचार

यस्तो रह्यो राष्ट्रपति भण्डारीको एक वर्ष

काठमाडौँ । गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एक वर्ष पूरा भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सो पदमा रहेर खेल्नुभएको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिएकी छन् । उनले गत कात्तिक १३ मा पदभार सम्हालेकी थिइन् ।

संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रूपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारी महिला भएकाले पनि उनी मुलुकको पहिलो राष्ट्रपति हुँदा उनको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उहाँले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उनलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुनसक्छ । ‘जनताको बहुदलीय जनवाद’का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उहाँलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रूपमा लिइन्थ्यो ।

नयाँ संविधानको व्यवस्थाबमोजिम व्यवस्थापिका–संसद्मा वि.सं. २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएकी भण्डारी ३२७ मतसहित निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गरेकी थिइन् ।

वि.सं। २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।

राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालाई शपथ गराइकेकी थिइन् भने संसद्बाट पारित विभिन्न विधेयकमा संविधानबमोजिम प्रमाणीकरण गरेकी छन्  । दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उनले चासो दिँदै आएकी छन् ।

राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गरेकी उनले राष्ट्रप्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए भन्दै शुक्रबारका पत्रपत्रिकामा समाचार प्रकाशित छन् ।