पु.समाचार

यसरी हुँदैछ लोकमानसिंह कार्कीमाथि छानबिन

काठमाडौं । महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित उनका सहयोगीमाथि समेत छानबिन गर्ने गरी कार्यविधि बनेको छ ।

संसद्को महाअभियोग समितिले गठन गरेको आन्तरिक कार्यविधि निर्माण उपसमितिले प्रमुख आयुक्तमा रहँदा कार्कीलाई सहयोग गरेका ‘विज्ञ, सल्लाहकार, जासुसी संयन्त्र र सुरक्षा संयन्त्रमा रहेकाहरूसँग समेत बयान लिने गरी कार्यविधि तयार पारेको हो ।

प्रारम्भिक कार्यविधिमा कार्कीलाई अनुसन्धानका क्रममा बयान लिनेदेखि साक्षी बुझ्ने, प्रमाण बुझ्नेलगायतका सबै कार्य गर्नेछ । कार्यविधिअनुसार अड्डा अदालत, विभिन्न निकाय, मन्त्रालयबाट पनि फाइल झिकाउन खानतलासी गर्ने अधिकारसमेत महाअभियोग समितिलाई हुनेछ ।

संसद्को नियमावलीले महाअभियोग लागेका व्यक्तिलाई मात्र एक साताभित्र सफाइको मौका दिन महाअभियोग समितिमा बोलाउने व्यवस्था गरेको थियो । आन्तरिक कार्यविधि निर्माण समिति महाअभियोग लागेका कार्कीमाथि छानबिन गर्ने कार्यविधिको प्रारम्भिक मस्यौदा बुधबार समितिमा पठाइएको छ ।

आन्तरिक कार्यविधि निर्माण उपसमितिले बुधबार आफ्नो प्रतिवेदन बुझाएपछि समितिले त्यसलाई नै पारित गर्ने तयारी गरेको छ । यद्यपि, पूर्ण समितिको बैठक भने २६ कात्तिकमा मात्रै बस्दै छ । कार्यविधिअनुसार महाअभियोग समितिका सदस्यलाई गोपनीयता भंग गर्ने अधिकार हुनेछैन । महाअभियोग सिफारिस समितिले महाअभियोगको प्रस्तावमा उल्लेख आधार र कारण देखिँदैन भनेर सिफारिस गर्न पनि सक्नेछ ।

यो समिति संवैधानिक समिति भएकाले यो स्थायी प्रकारको समिति हो । यदि यसरी संसद्को बैठकमा पठाइए संसद्ले पुनः दोहोर्यायएर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । संसद्ले दोहोर्योएर विचार गर्न भनेपछि पुनः महाअभियोग समितिले प्रतिवेदन बुझाउनुपर्नेछ ।

सात दिनभित्र महाअभियोग सिफारिस समितिले पुनः निर्णय गर्नेछ । संसद्ले चाहे समितिका सदस्यहरूलाई फेरबदल गर्न पनि सक्नेछ । समितिको आचार–संहिता बनाउने विषयमा विवाद हुँदा विभिन्न कोणबाट प्रश्न उठेका थिए । अन्ततः कार्यविधिमा आचार–संहिताको विषय राखिएको छैन ।

‘महाअभियोग सिफारिस समिति अदालत होइन, अर्धन्यायिक निकाय पनि होइन, यो विशेषाधिकार सम्पन्न संसद् हो, सांसदले के गर्नु हुन्छ रु के गर्नु हुँदैन रु भन्ने कुरा संसद् नियमावलीले भन्ने हो,’ समितिका सदस्य तथा उपसमितिका संयोजक रामनारायण बिडारीले भने । बिहीबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।