स्वास्थ्य

चिकित्सक, स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

झापा ।लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन्।
डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो।
त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ। मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ।
त्यस्तै नेकपा एमालेका दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ। खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ। यहाँ सरकारले तोकेको कीटमा डेङ्गु परीक्षण हुने गरेको छ। बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रुपमा डेङ्गु रोगको परीक्षण गर्ने बताएका छन्।
दमकमा सबैभन्दा बढी दमकको एडभान्स हेल्थ केयरमा डेङ्गुका बिरामी फेला परेको बताइएको छ। एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेङ्गुका बिरामी फेला परेका छन्। त्यस्तै अन्य अस्पतालमा पनि डेङ्गु रोगी भेटिएको बताइएको छ।
यसैबीच डेङ्गुरोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ। रासस