पु.समाचार

तीन दलको सहमतिमा महाअभियोग पास हुन्छ: नेपाल

काठमाण्डौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुख्य तीनदलको सहमतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव पास हुने दाबी गरेका छन् ।

नेता नेपालले कांग्रेससँग छलफल गरेरै महाअभियोग प्रस्तावमा ल्याइएको बताए । ‘प्रस्तावको विषयमा कांग्रेससँग पटकपटक छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसका सांसदहरु पनि महाअभियोग प्रस्तावको पक्षमा रहेका छन् ।’

सरकार गिराउने र ढाल्ने भन्दा पनि कानुनको सर्वोच्चता स्थापित गर्न लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको उनको भनाइ थियो । नेता नेपालले सम्मानित अदालतको आदेश नमान्ने, भाषण गरेर राजनीतिकदलविरुद्ध उत्रने र समानान्तर सत्ता सञ्चालन गर्न खोज्ने अख्तियार प्रमुख कार्कीलाई अब पदमा वस्ने कानुनी हैसियत नभएको बताए ।

नेता नेपालले अहिलेको प्राथमिकता संविधान संशोधन भन्दा पनि महाअभियोग प्रस्ताव पास गर्ने रहेकाले महाअभियोग प्रस्ताव पास भएपछि मात्र संविधान संशोधनका विषयमा छलफल हुने बताए भन्दै शनिबारको कान्तिपुरमा समाचार प्रकाशित छ ।