पु.समाचार

सञ्चालनमा आउन सकेन सवारी परीक्षण केन्द्र

काठमाण्डौ । मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको शिकार बनेको छ । दुर्घटना बढ्दा सबैको चासो हुने गरे पनि यसको सञ्चालनमा कसैको चासो देखिंदैन ।

निर्माण सकिएको ६ वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन सकेको छैन । सञ्चालनको जिम्मेवारी लिएको यातायात व्यवस्था विभागले सञ्चालन निर्देशिका बनाउन नसक्दा २०६८ मै निर्माण भएको केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

मेसिन, विद्युत्लगायत सबै संरचना तयारी हालतमा रहे पनि त्यहाँ आवश्यक कर्मचारी, इलेक्ट्रो मेकानिकल प्रविधिको उपलब्धता नहुँदा समस्या आएको हो । विभागले २०७१ पुसमा सवारी परीक्षण केन्द्र रहेको टेकुमा नै कार्यालय स्थापना गरिको काम अघि बढाएको थियो ।कार्यालयले विभागलाई पटक–पटक कार्यविधि तथा अन्य आवश्यक प्रविधि र दक्ष कर्मचारी आए सञ्चालन गर्ने सक्ने भनी पत्र पठाएको जनाएको छ । सरकारले आव २०६६/०६७ मा बजेट विनियोजन गरी सवारी परीक्षण केन्द्र निर्माण सुरु गरेको थियो ।

रोपवेको भवनमा निर्माण गरिएको सेन्टरमा विद्युत् जडान भइसकेकाले निर्देशन र कार्यविधि आउने हो भने सवारी परीक्षण कार्यालय आफ्नो काम गर्न तयारी हालतमा रहेको कार्यालयले जनाएको छ ।

परीक्षण केन्द्र सञ्चालनका लागि सवारीको ब्रेक फोर्स कति हुनुपर्ने, एक्सएल लोड कति हुने, टायरको स्लिम कति हुने जस्ता प्रविधिक कुरा स्पस्ट रूपमा मापदण्ड बनाउनु पर्ने हुन्छ । विभागले यसबारे निर्देशिका नबनाउँदा काम अघि बढाउन नसकिएको हो ।

सरकार सवारी परीक्षण केन्द्र सञ्चालनका लागि तयार रहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । ‘तर परीक्षण केन्द्र सञ्चालनका लागि मेकानिकल र कम्प्युटरको पार्टसहितको इलेक्ट्रोमेकानिकल सफ्टवेर बनाउनु पर्नेछ, त्यो हाल बनिरहेको छ,’ उनले भने, ‘त्यससँगै कार्यालयलाई आवश्यक प्राविधिक कर्मचारी पनि आवश्यक पर्छ त्यो पनि माग गरेका छौं भन्दै शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।