आर्थिक

त्रिशुली ३ ‘ए’ को काम मंसिरदेखि सुरु हुने

काठमाडौं । भूकम्पका कारण निर्माण अवरुद्ध भएको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको काम आगामी नोभेम्बर अर्थात मंसिरदेखि सुरु गरिने भएको छ ।

नुवाकोट र रसुवा जिल्लामा निर्माणाधिन त्रिशुली ३ एक जल विद्युत आयोजनाको पहुँचमार्ग पूर्ण रुपमा क्षति भएपछि अवरुद्ध भएको निर्माण कार्य मंसिरदेखि सुरु गरिन लागेको छ ।

नेपाल विद्युत प्राधिकरणले अघि बढाइरहेको आयोजनाको काम भूकम्पका कारण १२ वैशाख देखि पूर्णरुपमा अवरुद्ध छ ।

सन् २०१६ को जुनमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको आयोजनाको निर्माणमा भूकम्पका साथै अन्य विविध कारणले ढिलाइ हुँदै आएको छ भन्दै बुधबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।