खेलकुद

टेनिस टोली सिंगापुर लाग्यो

ललितपुर । डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सिंगापुर प्रस्थान गरेको छ ।
अक्टोबर १७ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेर समूहको महिला सिंगल्समा प्रतिस्पर्धा गर्ने तयारीका साथ उनीहरु सिंगापुर लागेका हुन् ।

गत मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका थिए । टिम प्रशिक्षकमा कृष्णराज घले रहेका छन् ।

मायांका र इराको स्पर्धामा उनीहरुसहित समान २०–२० खेलाडी सहभागी हुने प्रशिक्षक घलेले जानकारी गराए । २० खेलाडीलाई विभिन्न चार समूहमा विभाजन गरी खेल खेलाइने छ । समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेईं, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने बताइएको छ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष समेत रहेकी अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोबाट सोमबार बिदाइ गरेका थिइन् ।